भिम लामाको चलचित्र ‘पहिचान’ बुढासुब्बा मन्दिरमा शुभ मुहूर्त


काठमाडौँ। धरानको ऐतिहासिक बुढासुब्बा मन्दिर प्राङ्गणमा सिनेमा ‘पहिचान’ को शुभ मुहूर्त सम्पन्न भएको छ। मुहूर्त समारोहमा पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले परम्परागत रूपमा नरिवल फुटाएर शुभारम्भ गरे भने याकथुङ चलचित्रकर्मी सङ्घका अध्यक्ष नवीन मेन्याङ्वोले शुभ मुहूर्त क्ल्याप ठोक्दै चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले क्यामरा स्विच अन संगै एक्सन कट गरेका थिए । मुख्य कलाकार धिरेन शाक्य र करिष्मा मानन्धरले मुहूर्त सट दिँदै सिनेमाको औपचारिक सुरुवात गरेका थिए। निर्देशक भीम लामाको नेतृत्वमा बन्न लागेको यो सिनेमा पूर्वी नेपालका विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन गरिने जानकारी दिइएको छ।

निर्देशक भीम लामाले ‘पहिचान’ ऐतिहासिक सिनेमा बन्ने विश्वास व्यक्त गर्दै कथाको माग अनुसार नै कलाकार छनोट गरिएको खुलाए। मुहूर्त समारोहमा सिनेमाकर्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले अभिनेता धिरेन शाक्य र अभिनेत्री करिष्मा मानन्धरलाई पूर्वमा स्वागत गरेका थिए । अभिनेता धिरेन शाक्यले सुरुदेखि नै ‘पहिचान’ टिमसँग जोडिएको बताउँदै उत्कृष्ट नतिजा दिन सबैले मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे। अभिनेत्री करिष्मा मानन्धरले पूर्वेली दर्शकसँग नजिकिने अवसर प्राप्त भएकोमा उत्साहित रहेको बताइन्।

धिरेन शाक्य र करिष्मा मानन्धरका साथै सिनेमामा द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गी, प्रेम सुब्बा, सुरवीर पण्डित, प्रशान्त तामाङ, किशोर सम्बाहाम्फे, रामजी विष्ट, रोशन शर्मा, शर्मिला राई, नव नायिका जेनि घिसिङ लगायतका कलाकारको अभिनय रहनेछ। भिम लामा फिल्म्सको ब्यानरमा निर्माण हुने यस सिनेमाका निर्मातामा भिम लामा, रामजी बिस्ट, छिरिङ लामा र उमेश तामाङ रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.