‘जनै हराएको बाहुन’मा केकी र मिरुनाको प्रवेश


काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । रिलिज मिति घोषणा गरि सकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रेयर राई यसअघि नै अनुबन्ध भइसकेका छन् ।

‘जनै हराएको बाहुन’मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । ‘जनै हराएको बाहुन’ ले आमा र छोराबीचको कथा भन्नेछ । ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशन हो । यो चलचित्रको एसोसियट निर्देशक मनिष राउत छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट शहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

आदित्य फिल्मस् निर्माता रहेको चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् । यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ । यो चलचित्र आगामी वर्षको हरितालिका तीज अर्थात भदौ १० गते प्रदर्शनमा आउने छ ।