काठमाडौँ । गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले ‘भ्यालेन्टाइन डे’ को दिन पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक प्रस्तुती दिएको छ ।
आयोजकले तालिका भन्दा २ घण्टा पछि मात्रै करिब राति १० बजे बज्राचार्यलाई स्टेजमा निमन्त्रणा गरेको थियो पहाडको चिसो हावा रात छिपिद्दै गैरहेको थियो तर पनि पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम र इलामसम्मका दर्शक बज्राचार्यको प्रस्तुति सुन्न कुरिरहेका थिए । स्टेज उक्लिनासाथ वाद्यवादन, प्राविधिक चेकजाच संगै इञ्जिनियरले आवाजको गुणस्तर सुनेर तारतम्य मिलेपछि बज्राचार्यले उपस्थित दर्शकलाई ज्याकेट फुकाउँदै छोटो सम्बोधन गर्दै सांगीतिक प्रस्तुति दिन थाले।
‘‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट प्रस्तुति सुरु गरेको ब्याण्डले तेस्रो प्रस्तुति ‘काँचो माया पियारी’ गीत सुरु गर्नेबित्तिकै स्टेजमुनि रहेका दर्शक उत्साहित बनिसकेका थिए ।
स्टेजमा धिमे बाजा र लाखे सहितको प्रस्तुति दिएको बज्राचार्य र उनको टिमले मध्यरातसम्म २ घण्टासम्म निरन्तर प्रस्तुति दियो । रिदम ब्याण्डसहित पहिलो पटक पाँचथर आएका बज्राचार्यले स्टेजमा ‘मायाको डोरीले’, ‘ओ अमिरा’, ‘काली काली’ हुँदै ‘कसले देला धन’सहित नयाँ,पुराना एक दर्जन गीत गाए ।
मध्यरातसम्म गीत गाउँदा नाचेका अधिकांश पसिनाले निथ्रुक्कै भिजिसकेका थिए तर समयको कुनै प्रवाह थिएन । प्रणय दिवसको अवसरमा बज्राचार्य उपस्थित कन्सर्ट हेर्न अधिकांश युवा–युवती भेला भएका थिए।
फिदिमका सक्रिय युवाहरुले स्थापना गरेको सामाजिक संस्था ‘हेल्प टुगेदर फाउण्डेसन’ को आयोजनामा बज्राचार्य र उनको ब्याण्ड रिदम पाँचथरमा पहिलोपटक प्रस्तुति दिएको हो ।