‘भाईरल गोर्खे’ को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा


काठमाडौँ। निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फागुन २ गते शुक्रबार भयालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

शुक्रबार सार्वजनिक एक पोस्टरमा अभिनेता सौगात मल्ललाई भाईरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा भने उनको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन् । यसले सिनेमाले पछिल्लो समय नेपालमा विकृतीको रुपमा मौलाउदै गरेको भाईरल प्रवृतीलाई व्यंग गरेको बुझ्न सकिन्छ ।

‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ,’ निर्देशक निगम श्रेष्ठले भने, ‘यसमै हाम्रो यो सिनेमा केन्द्रित रहनेछ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ ।’

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । अमर महर्जनको छायांकन रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।