काठमाडौँ । आज शुक्रबारबाट एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’ फरक जनराका तिन सिनेमा आज बाट प्रदर्शनमा आएका हुन् ।
फ्राईडे रिलिजको परम्परा धान्दै आएका यी तीनवाटै फिल्म देशभर एक अर्काेसँग व्यावसायिक प्रतिस्पर्धामा उत्रिएको हो । ‘ममी’ समर निरौलाले निर्देशन गरेका हुन्, भने ‘सारंग’का निर्देशक प्रशान्त तामाङ रहेका छन् । ‘जुनाः एक व्यथा’ जीवन सेञ्चुरी निर्देशित फिल्म हो ।
‘जुनाः एक व्यथा’
‘जुनाः एक व्यथा’ बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावको कथामा बनेको फिल्म हो । विवाह गरेर गएपछि श्रीमान्ले दिने यातना, सासूको क्रुद्ध व्यवहारलाई गीतमा झल्काउन खोजिएको छ ।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेतलगायतको अभिनय छ । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् ।
‘सारंग’
‘सारंग’ बाल मनोविज्ञान, बाल अधिकार, धनी–गरिब परिवारबीचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको फिल्मको हो । फिल्मले एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने समस्या समेत देखाउँछ ।
फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमनसागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट् र आदित्यको समेत अभिनय छ ।
फिल्मको निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन । दर्शन बुद्धफिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्ममा शंकर थापा स्माइल र नकुल कार्कीको सङ्गीत, सुष्मा राईको कोरियोग्राफी छ ।
‘ममी’
‘ममी हरर फ्यामिली ड्रामा निर्माण भएको फिल्म हो । फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ । फिल्ममा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको अभिनय छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन छ । फिल्मका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
‘ममी’को छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ ।