‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक


काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो । फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक टिजरमा फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको पीडालाई देखाइएको छ । अनमेल विवाहले एउटी नारीको जीवनमा कस्तोसम्म असर पर्छ भन्ने कुरा अस्मितामार्फत टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारलाई स्थान दिइएको छ ।

फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ । निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए । ‘‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म हो । नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने । उनले फिल्मले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताए ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.