‘लाज शरणम्’ का तीन पोस्टरमा भिन्न भिन्न कथा


काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले चलचित्रका तीनवटा पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका पोस्टरमा चलचित्र अधिकांश मुख्य कलाकार अटाएका छन् । पोस्टरमा पाँच जना कलाकार फिचर्ड छन् । चार जना चिनिए पनि एक जना चिनिँदैनन् ।

पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिन भित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन् । यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ ।

दोस्रो पोस्टरमा हातमा तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । उसको तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको देखिन्छ । सुनको विष्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ । उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

अर्को पोस्टरमा हरिष र विजय छन् । हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शङ्ख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको देखाएको छ ।

गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ले कथा भन्ने पोस्टरले संकेत गरेको छ । चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदै छ । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, बबिन राई , रामभजन कामत, कमलमणि नेपाल लगायत कलाकारको अभिनय छ । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।