चलचित्र ‘कार्साङ’ को पहिलो गीत सार्वजनिक,दयाहाङ र सिर्जना ठुम्का


काठमाडौं । चलचित्र ‘कार्साङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा डीपी खनालको शब्द रचना एसडी योगीको संगीत छ । गीतमा स्वर एडी योडी र रेश्मा पुन मगरको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ । प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ ।

पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ । चलचित्र ‘कार्साङ’मा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।