सदाबहार नायक श्री कृष्णको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


(सेलिब्रेटी नेपाल) काठमाडौँ
गत शनिबार राति नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएका ४७ वर्षीय नेपाली चलचित्रका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरमा उनका हजारौं प्रशंसकले अन्तिम श्रद्धाञ्जली दिएका छन्। भारतको गंगाराम अस्पतालमा निधन भएका श्रीकृष्णको शवलाई सोमबार दिउँसो करिब साढे ३ बजे इण्डियन एयरलाइन्सको विमानबाट राजधानी ल्याइएको थियो। उनको शवलाई श्रद्धाञ्जली दिनका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो एक बजेदेखि नै सर्वसाधारण तथा चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो। विमानस्थलमा निर्देशक आकाश अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाललगायतका चलचित्रकर्मीहरु पुगेका थिए।
Shree-krishna-end
यता प्रज्ञा प्रतिष्ठानमा अभिनेताको अन्तिम दर्शन गर्न उनका प्रशंसक तथा चलचित्रकर्मीको थुप्रो भिड लागेको थियो। सुरक्षाका लागि खटिएका प्रहरीलाई पनि भिड नियन्त्रण गर्न हम्मे हम्मे नै परेको थियो। हजारौं संख्यामा उपस्थित सर्वसाधारण तथा चलचित्रकर्मी माझको भिड नियन्त्रण गर्न नसकेपछि करिब साढे पाँच बजे प्रतिष्ठानमा ल्याइएको शवलाई गाडीबाट नउतारी पशुपति आर्यघाटतर्फ लगिएको थियो। उनलाई अन्तिम श्रद्धाञ्जली दिन सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल, महानायक राजेश हमाल, नेपाल टेलिभिजनका अध्यक्ष निर शाहलगायतका चलचित्रकर्मी तथा सरकारी निकायका प्रतिनिधि प्रतिष्ठान पुगेका थिए। नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिइएको छ। राष्ट्रिय सम्मानका साथ उनको अन्तिम विदाइ गरिएको हो। उनको पार्थिव शरीरमा उनका दाजुले दागबत्ती दिएका छन्।
Shree-krishna-last
२०४४ मा नाटक ‘देशदेखि विदेशसम्म’ खेल्दै अभिनय यात्रामा होमिएका श्रीकृष्ण त्यसपछि प्रज्ञाप्रतिष्ठानमा गीतिनाटक ‘रामलीला’ खेल्दा चलचित्र लेखक मोहन निरौलाको आँखामा परे। निरौलाले नै उनलाई २०४५ मा ‘भुमरी’ मार्फत चलचित्रमा प्रवेश गराए। २०४९ माचलचित्र ‘नाता’ बाट उनी आमदर्शकका’हिरो’ बनेर उदाएका नायक यस संसार बाट बिदा हुँदा सम्पूर्ण नेपालीको मन रोएको छ।
Shree-krishna-pashupati