काठमाडौँ। गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरिरहेको छ । वीक डेजमा समेत राम्रो व्यापार गरिरहेको सिनेमाले आज नेपालगञ्ज सर्वाधिक शोज पाएको छ ।
बाँकेको नेपालगञ्जमा सञ्चालित दुई हल सिने रोयल र क्युएफएक्स बागेश्वरीले ह्रस्व दीर्घलाई १५ शोज उपलब्ध गराएका छन् । ती सवै शो राताम्य देखिएका छन् । सिने रोयलले उपलब्ध गराएका १० शो र क्युएफएक्स बागेश्वरीले सिनेमालाई ५ शो उपलब्ध गराएका छन् । बिहानी शोबाट नै सिनेमालाई आज उल्लेख्य साथ पाइरहेको छ ।
सिनेमालाई दर्शकको उच्च साथ मिलेसँगै निर्माण टिम आज दर्शकसँग साक्षात्कार गर्न नेपालगञ्ज पुगेको हो । सिनेमाकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, हरिहर अधिकारी, भारतीय अभिनेता प्रदीप सिंह रावत र निर्देशक चन्द्र पन्त बुधबार बाँकेको नेपालगञ्ज पुगेका हुन् । भारतीय अभिनेता प्रदीप नेपालगञ्ज बाट नै भारत फर्किन लागेको निर्देशक पन्तले बताए ।
यसैबीच सिनेमाको निर्माण टिमले ४ दिने बक्सअफिस कलेक्सन रिपोर्ट समेत सार्वजनिक गरेको छ । सिनेमाले ४ दिनमा ३ करोड ६५ लाख ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिएका छन् । सिनेमाले शुक्रबार ८० लाख, शनिबार १ करोड २० लाख, आइतबार ७५ लाख र सोमबार ९० लाख ग्रसकलेक्सन गरेको बितरक कम्पनि ब्यंकटेश इन्टरटेनमेन्ट उल्लेख गरेको छ ।
यता मंगलबार सिनेमामा समावेश नयाँ गीत जपिँदैन हरि सार्वजनिक गरिएको थियो । एक जोडीको प्रेमभाव बोल्ने गीतमा केतन क्षेत्री र मेनुका पौडेलको स्वर र प्रतिक पौडेलको शब्द रचना तथा संगीत छ । गीतमा नीता ढुंगाना, हरिहर अधिकारी र सरोज खनालसहितका कलाकारहरु फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा नीता र हरिहर रोमान्टिक देखिएका छन् ।