विपीन भन्छन्, ‘तेल भिसा’ को दोहोरो भूमिका चुनौतीपूर्ण तर रोमाञ्चक


काठमाडौं। निर्देशक शंकर घिमिरेको लेखन र निर्देशनमा बनेको सिनेमा ‘तेल भिसा’को टिम अहिले प्रचारप्रसारमा जुटेको छ। मंसिर ७ गते रिलिज हुने चलचित्रको टिम रिलिज मिति नजिकिँदै जाँदा दर्शक माझ पुग्न निरन्तर लागिरहेका छन्। यसै क्रममा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिनेमाका मुख्य कलाकार, निर्माता, र निर्देशकले आफ्ना धारणा प्रस्तुत गरे।

सिनेमाका कलाकार र निर्देशकले “तेल भिसा” यथार्थपरक घटनामा आधारित रहेकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। निर्देशक शंकर घिमिरेका अनुसार सिनेमा अमेरिकामा रहेका नेपालीहरूको जीवन भोगाइलाई चित्रण गर्छ। अमेरिकामात्र नभई, क्यानडा, अष्ट्रेलिया, र अन्य युरोपेली देशमा रहेका नेपालीहरूले भोग्नुपरेका यथार्थलाई पनि समेट्ने प्रयास गरिएको छ।

‘तेल भिसा’का मुख्य अभिनेता विपीन कार्कीले अमेरिकामा छायांकनका क्रममा धेरै अग्रज कलाकारसँग नजिकिने अवसर पाएको बताउँदै आफ्नो अनुभव साझा गरे। “टाढा-टाढाबाट कलाकारहरू सिनेमाका लागि आएका थिए, यो देखेर कलाकारिताप्रतिको उनीहरूको लगावलाई म अझ बढी सम्मान गर्छु,” विपीनले भने।

विपीनले यस सिनेमामा दोहोरो भूमिका निभाएका छन्, जसलाई उनले निकै चुनौतीपूर्ण अनुभव गरेका छन्। “एउटै पात्र निभाउँदा पनि गाह्रो हुने बेला हुन्छ, दोहोरो भूमिका त झन् गाह्रो हुन्छ। तर, स्क्रिप्ट हातमा पर्नासाथ म मानसिक रूपमा तयारीमा लागेँ,” उनले भने।

त्यस्तै, अभिनेत्री तथा निर्माता ऋचा घिमिरेले अमेरिकामा छायांकन गर्नु विशेष चुनौतीपूर्ण नभएको बताइन्। उनले विपीनको सरल स्वभावले काममा सहजता ल्याएको पनि उल्लेख गरिन्। “विपीन अनस्क्रिन मात्रै होइन, अफ-स्क्रिन पनि अत्यन्तै सरल छन्। उहाँको यस्तो व्यवहारले अमेरिकामा छायांकन सहज बन्यो,” ऋचाले भनिन्।

वर्षा राउतले यस सिनेमामा गर्भवती महिलाको भूमिका निभाएकी छन्, जसका कारण उनलाई रमाइला अनुभवहरू भए। उनले मोटो देखिँदा घरपरिवारले मजाकमा गर्भवती भनेर बधाई दिने गरेको खुलासा गरिन्। “ममीले त एकदिन फोन गरेर ‘नानी बधाई छ’ भन्नुभयो,” उनले हाँस्दै सुनाइन्।

निर्देशक शंकर घिमिरेले ‘तेल भिसा’मा विदेशी भूमिमा कानुन नबुझ्दा नेपालीहरूले भोग्नुपर्ने समस्यालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.