‘पुजार सार्की’ निर्माताको हलिउड प्रोजेक्ट छायाँकन सम्पन्न


काठमाडौं । पहिलो चलचित्र ‘पुजार सार्की’ बाट ठूलो सफलता हात पारेपछि किङ्डम नेटवर्कले आफ्नो दोस्रो चलचित्र ‘फ्र्याक्चर’ को छायाङ्कन पूरा गरेको छ। अमेरिकाका निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो चलचित्र पूर्ण रूपमा अङ्ग्रेजी भाषामा रहेको छ।

चलचित्रमा नेपाली अभिनेता आर्यन सिग्देल र हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टले प्रमुख भूमिका निर्वाह गरेका छन्। बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित र गुणराज श्रेष्ठजस्ता कलाकारले पनि महत्त्वपूर्ण भूमिका निभाएका छन्। किङ्डम नेटवर्कका निर्माता सुवास भुसालका अनुसार यो चलचित्रले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्य राखेको छ।

‘फ्र्याक्चर’ को कथा एक जना अमेरिकी सैनिक, ज्याक स्टेन्टन, जो आफ्नो हराएको साथीको खोजीमा सगरमाथा क्षेत्रसम्मको खतरनाक यात्रा गर्छ, वरिपरि घुम्छ। चलचित्रमा साहस र सङ्घर्षका विभिन्न पक्षलाई पर्दामा प्रस्तुत गरिएको छ।


यस चलचित्रको करिब ७० प्रतिशत दृश्य नेपालका काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला र सगरमाथा बेस क्याम्पमा छायाङ्कन गरिएको छ। छायाङ्कनको क्रममा नेपाली र अमेरिकी टोलीको सहभागिता रहेको थियो, जसमा हिमाल आरोहण विशेषज्ञ एन्ड्रयु ह्युज र २ पटक एमी पुरस्कार विजेता निर्माता गर्रेट म्याडिसन समेत रहेका छन्। चलचित्रको सिनेमाटोग्राफी डकोटा डियलले गरेका हुन्, जो ‘आर्मी अफ द डेड’ लगायतका प्रोजेक्टहरूमा संलग्न थिए।

निर्माताहरूले नेपालमा हलिउडसँगको सहकार्यले अन्तर्राष्ट्रिय दर्शकलाई आकर्षित गर्ने र नेपाली पर्यटनलाई पनि प्रवर्द्धन गर्ने विश्वास लिएका छन्। चलचित्र कहिले रिलिज हुने भन्ने टुंगो छैन, तर विश्वव्यापी रिलिजको तयारी भइरहेको छ।

यसै क्रममा, अमेरिकी टिम नेपाल फर्कने बेला चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले टिमलाई विदाई गर्दै ढाका टोपी र नेपाली लोकेसन गाइड उपहार दिए।

Copyright © 2012 - 2026 | All Right Reserved.