काठमाडौं । आउँदो कात्तिक ३० गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ चर्चाको विषय बनेको छ। एक्सन, प्रेम र बिछोडको गहिरो संयोजनले भरिएको ट्रेलरले दर्शकको मन खिच्ने संकेत गरेको छ। सिनेमाले एक धार्मिक धामभित्रको प्रेम जोडीको कथा र त्यहाँ उनीहरूले गरेको संघर्षलाई प्रमुख विषय बनाएको छ।
ट्रेलरको उच्च मेकिंग, साउन्ड डिजाइन, रोमाञ्चक एक्सन दृश्यहरू र गहिरो संवादहरूले सिनेप्रेमीलाई आकर्षित गर्ने विश्वास गरिएको छ। ट्रेलरमा देखिएका रोमाञ्चक सस्पेन्सले दर्शकलाई सिनेमातर्फ झनै तान्नेछ।
सिनेमामा साउथका चर्चित कलाकारहरूको भूमिका र बलियो अभिनय प्रस्तुत गरिएको छ। निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको यस सिनेमामा नीता ढुंगाना, हरिहर अधिकारी र विपना थापा,गरिमा शर्मा,प्रशान्त ताम्राकार,रेखा थापा,संचिता लुइँटेल,नरेन खड्का,रबिन्द्र झा,बुद्दि तामाङ,सरोज खनाल,किरण केसी,निर्मल शर्मा लगायत नेपाली कलाकारसँगै दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम र सुनील वर्माले पनि अभिनय गरेका छन्। ट्रेलरको लोकप्रियताले सिनेमा प्रतिक्षित बनेको छ।
नीता फिल्मस्को ब्यानरमा निर्माण भएको यस सिनेमामा कार्यकारी निर्माता धनन्जय गलानी हुन्। नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज गरिने यो सिनेमाले बहुभाषिक दर्शकलाई ध्यानमा राखेको छ। पोस्टर डिजाइन विजय वस्यालले गरेका हुन् भने व्याङ्कटेस इन्टरटेनमेन्टमार्फत मनोज राठी र उज्वल पौडेलले वितरणको जिम्मा लिएका छन्।
सिनेमाको कथा अभिनेता हरिहर अधिकारीको रहेको छ भने पटकथा प्रतीक पौडेल, चन्द्र पन्त र हरिहर अधिकारीले लेखेका छन्। बलिउडका अनुभवी सिनेमाटोग्राफर कवीरलालले सिनेमाको छायांकन गरेका हुन्। निर्देशक पन्तको यो पहिलो नेपाली सिनेमा निर्देशनको अनुभव हो, जसले भोजपुरी सिनेमा र नेपाली सिनेमा क्षेत्रमा द्धन्द्व निर्देशकको रुपमा पहिचान बनाएका छन्।