
काठमाडौँ। रमाइलो र सांगीतिक चाडको रुपमा मनाइने पर्व दिपावलीको अवसरमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ लाई दर्शकले राम्रो साथ दिएका छन्। गन्धर्व समुदायका बाबु र छोराको सम्बन्धको कथा भन्ने चलचित्र लक्ष्मीपुजाको दिनबाट प्रदर्शनमा आएको हो। चलचित्रले दर्शकलाई भावुक बनाएको छ। सिनेमा हेरेर निस्कने दर्शक आँखा मिच्दै निस्केका छन्। बाबु र छोराको सम्बन्धको कथाले दर्शकलाई छोएको छ। चलचित्रले देशभर उत्कृस्ट प्रतिक्रिया पाएको छ। बिहिबार पाएको शो भन्दा सोमवार आइ पुग्दा शो धेरै संख्यामा बढेको छ।
निर्माता बिनोद पौडेलका अनुसार चलचित्रले राम्रो कलेक्सन गरेको छ। ४ दिनको ब्यापारको पूर्ण रिपोर्ट आउन बाँकी रहेको पौडेलले बताए। चलचित्रको वर्डअफ माउथ राम्रो भएको कारण चलचित्र लामो समय सम्म चल्ने निर्माता पौडेलले बताए।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटा लगायत कलाकारको मुख्य भूमिका छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीकाे लगानीमा बनेको चलचित्रमा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।



