बिकेबाट पूर्णे बनेका बरालको काँधमा ‘पूर्ण बहादुरको सारङ्गी’


काठमाडौँ। आगामी १५ गते बिहिवार अर्थात् लक्ष्मी पूजाका दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ यति बेला तीव्र प्रचारमा छ । चलचित्रमा पूर्ण बहादुर अर्थात् पूर्णेको चरित्रमा छन् कलाकार विजय बराल ।

गन्धर्व समुदाय र मौलिक बाजा सारङ्गीलाई केन्द्रमा राखेर पारिवारिक कथा पस्कने तयारीमा रहेको चलचित्रमा बराल केन्द्रमा छन् । अभिनयको तारिफ कमाउँदै आएका बराल यस पटक सिङ्गो चलचित्रको काँध थापेर अघि बढिरहेको प्रचार सामग्रीबाट महसुस हुन्छ ।

निर्माण टिम पनि यस कुरामा सहमत छ कि, विजय बराल कथाले मागेका पात्र हुन् जसले पूर्णे चरित्रलाई न्याय गर्न सकुन् । यस विषयमा चलचित्रका एक निर्माता विनोद पौडेल भन्छन्,‘विजय बराल चलचित्रका लागि निर्विकल्प पात्र हुन् जो कथाले डिमान्ड गरेका थिए,’ उनी थप्छन्,‘सुरुमा स्क्रिप्ट आयो र सोही अनुसार पात्र तय गरियो, २५ वर्षे ठिटोदेखि ६५ वर्षको बुबासम्मको चरित्र निर्वाह गर्ने पात्रमा बराल फिट लाग्यो र छानेका हौँ ।’

प्रदर्शन मिति नजिकिँदै गर्दा कलाकार बराल पनि उत्साहित छन् यद्यपि चलचित्रमा शीर्ष पात्र निर्वाह गर्दै गर्दा त्यसको ओझ पनि गह्रौँ भइरहेको महसुस बराल गरिरहेका छन् ।

बराल भन्छन्, ‘मुख्य भूमिका अलि भारी हुँदो रहेछ यद्यपि चलचित्रले सन्तानप्रति अभिभावक अर्थात् बाबुले छोराप्रति देखेको सपना बोल्छ र चलचित्र हेरिसकेपछि दर्शकले केही चीज पक्कै प्राप्त गर्नु हुनेछ।’

सारङ्गी रेट्दै सन्तानको सुख प्राप्तीको कामना गरिरहेको पात्र पूर्णे दर्शकका आँखामा कति प्रिय हुने हो त्यो त कात्तिक १५ पछि नै थाहा होला यद्यपी बराल भने चलचित्र अर्ग्यानिक र उत्कृष्ट बनेको दाबी गर्छन् । भन्छन्, ‘बजारमा स्याउ धेरै पाइए पनि जुम्लाको स्याउको महत्व फरक छ त्यसरिनै ‘पूर्ण बहादुरको सारङ्गी’ पनि रसिलो छ।’

चलचित्रमा विजयका साथमा देखिएकी छिन् कलकार अञ्जना बराइली । त्यसैसरि प्रकाश सपूत, मकुनु भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शङ्कर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय चलचित्रमा देख्न सकिने छ । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानीमा तयार चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् ।