निता र हरिहरको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक (भिडियो)


काठमाडौँ। चन्द्र पन्तको निर्देशनमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे प्रष्ट पारेको छ । एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहलाई दर्शाउन खोजिएको छ । चलचित्रमा हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ।

निता फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा निता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, रेखा थापा,किरण केसी, बुद्धि तामाङ,सञ्चिता लुइँटेल,नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, रबिन्द्र झा,वसिम राजा, साउथ फिल्मका कलाकारहरू ब्रह्मानन्दम, अली, ‘पुष्पा’ का भिलेन सुनिल वर्मा, ‘गजनी’ का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहेको छ । नेपाल र भारतमा छायाँकन गरेको चलचित्र बिग बजेटमा निर्माण गरिएको निर्माण टिमले बताएको छ। चलचित्रमा करण सिंह प्रोडक्सन डिजाइनर रहेका छन्।

दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता बलिउड फिल्म छायाङ्कन गरेका कवीरलाल ‘ह्रस्व दीर्घ’ को छायाँकार हुन् । प्रेमकथामा बनेको चलचित्र नेपाल तथा भारतका फिल्म हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने योजनामा निर्माण युनिटको छ । चलचित्र कार्तिक ३० गतेबाट प्रदर्शनमा आउनेछ।