सिनेमा ‘१२ गाउँ’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक


काठमाडौं । दशैंको फूलपाती अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘१२ गाउँ’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको ३ मिनेट १४ सेकेण्ड लामो ट्रेलरले दर्शकमाझ उत्साह पैदा गर्न सफल देखिन्छ ।

सिनेमाका डेव्यु अभिनेता समीर भट्टको सिक्स प्याक्ड बडी र संवादले दर्शकलाई हलसम्म ल्याउने देखिन्छ । सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका सवैजसो मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । सिनेमालाई एक्सन विराज भट्ट आफैले निर्माण तथा निर्देशन गरेका हुन् ।

यो सिनेमाबाट समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन,महेश पौडेलको छायांकन छ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।