आर्यन सिग्देल ‘होस्टेल ३’ मा ‘वार्डेन’ बन्दै


काठमाडौं। यसै साता छायाङ्कनमा जान लागेको नेपाली चलचित्र ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो।

आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण ‘वार्डेन’को भूमिकामा देखिनेछन्। निर्देशक सशान कँडेल पछिल्लो समय अत्यन्तै व्यस्त हुँदा पनि आर्यनले ‘होस्टेल ३’मा काम गर्न लागेकोमा खुसी देखिए। “उहाँले निभाउने ‘वार्डेन’को भूमिका चलचित्रको मेरुदण्ड हो।

सिग्देलसँगै अभिनेत्री परीक्षा लिम्बु पनि चलचित्रमा अनुबन्धित भएकी छन्। निर्देशक कँडेलले उनको विशेष भूमिकामा अभिनय रहने जानकारी दिएका छन्। यसअघि, आर्यन र परीक्षाले चलचित्र ‘पुजार सार्की’मा सँगै काम गरेका थिए।

‘होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ। बुधवार नै जापान, मध्यपूर्व र मलेसियाका लागि चलचित्रको वितरण अधिकार बिक्री भइसकेको छ। जापानका लागि यूएनए इन्टरटेन्मेन्टका उज्ज्वल गुरागाईँले वितरण अधिकार लिएका छन् भने मध्यपूर्व र मलेसियाका लागि आशिष पुरुषले वितरण अधिकार लिएका छन्।

चलचित्रमा आर्यन र परीक्षासँगै ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूले अभिनय गर्दैछन्।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक कँडेलकै हो। यसलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दै छ। कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.