पलको लागी ‘रावायण’ को क्यारेक्टर ड्रिम क्यारेक्टर


काठमाडौं । टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान् । रामको चरित्रलाई उतारिएको यो टेलिफिल्म सबैको लोकप्रिय टेलिफिल्ममा पर्छ । नायक पल शाहले पनि यो सिरियल बच्चै हुँदादेखि हेरेका हुन् । रामको चरित्रलाई नजिकबाट नियालेका यिनै पल फिल्म ‘रावायण’मार्फत ‘रावण’ चरित्रमा दर्शकमाझ आउँदैछन् ।

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’मा उनी रागव र कान्छा नाम भूमिका अर्थात दोहोरो भूमिकामा देखिँदैछन् । ‘मलाई रावायण शब्द नै मनपरेको थियो । रामायण त बच्चैदेखि हेर्दै आएको हो । रावायण चाहिँ रावणको कथा हो । मलाई सुदर्शन दाईले रावणको कथा सुनाउँदा कस्तो होला त भनेर कथा सुनाउनुभयो । फिल्ममा एउटा क्यारेक्टरले दुईवटा चरित्र अर्थात नेगेटिभ र पोजेटिभ चरित्र निभाउनु पर्ने थियो । एकै व्यक्तिले दुई चरित्र निभाउनु पर्ने भएपछि मलाई निकै चाख लाग्यो’, पल भन्छन् ।

फिल्मको टिजर र ट्रेलरमा पललाई दार्ही जुँगा गेटअपमा निकै आक्रामक देखाइएको छ । उनकै भनाईमा यो लुक्स कान्छाको हो, जो न्यायका लागि आक्रामक हुन्छ । ‘कान्छा तराई बेसको पात्र हो । उसको घर जनकपुरमा छ । बच्चैदेखि उसको बाबुआमा छैन । बाबुलाई नै कान्छाले मार्छ । आमालाई बाबुले गरेको वितण्डा देखेर बाबुलाई मारेर ऊ जनकपुर पुगेको हुन्छ । उसलाई त्यहाँको जमिन्दारले पालेर राख्छ । रागव क्यारेक्टर चाहिँ पाइलट हुन्छ’, पल आफ्नो भूमिका बारे खुल्छन् ।

निर्देशक सुदर्शन थापाले पललाई ‘रावायण’को चरित्र बारे सुनाउदा उनलाई आफूले गर्न सकिन्छ र जस्तो भान भएको रहेछ । ‘मैले दाईलाई ‘तपाईंले गलत तपाईंले गलत कास्टिङ पो गर्नुभयो कि ?’ भनेर सोधें । किनकी यस्तै क्यारेक्टरका लागि अरु पनि कलाकार छन् । तर उहाँले ‘तिमीले गर्न सक्छौं’ अनि वर्कसपमा पनि कान्छाकै लागि मेहनत गर्यौ’, उनले भने ।

पलले फिल्मका लागि ‘रावण’को चरित्र र आनीबानी बारे अध्ययन गरेका रहेछन् । बाल्यकालमा हेरेको ‘रामायण’को ‘रावण’ सम्झँदै कलिउयुगको रावण बन्न उनले रावणको क्यारेक्टरको अध्ययन गरेका हुन् । ‘त्यो बेलाको सीताको कतिपय आनीबानी पुजासँग मिल्थ्यो । सीताले गर्न खाजेको, भन्न खोजेको कुरा पुजाले फिल्म गरेको छ । रामायणकै चिजहरु हामीले किताबबाट खोजेर युट्युबाट हेरेर के के हुनसक्छ भन्ने कुरा फिल्ममा राखेका छौं’, पल भन्छन् ।

फिल्ममा ‘लभर ब्वाई’को छवि बनाएका पलले ‘रावायण’मा चरित्रकै लागि उनले देखेका र चिनेका दाजुहरुसँग केही समय संगत गरेका रहेछन् । फिल्म ‘पुजार सार्की’को सुटिङका क्रममा पोखरामा चिनेका दाजु उमेरका मानिसहरुसँग घुलमिल हुने प्रयास गरेका थिए । ‘मलाई गुण्डाको हिसाबले हाँस्न आउँदैन थियो । उसको शैली, खाने, बोल्ने, हिँड्ने तरिका सबै कुरा फरक नै थियो । त्यसका लागि देखिरहेको र चिनिरहेको दाईहरु हुनुहुन्छ । ती दाईहरुसँग पनि हिँडे । पुजार सार्कीको सुटिङको क्रममा पोखरामा थिएँ । त्यहाँका दाईहरुसँग पनि हिँडे । म वीरगञ्जमा २ वर्ष तराई टिभीमा टेक्निसियन भएर काम गरेको थिएँ । त्यो बेला पनि त्यहाँको रहनसहन हाउभाउ आउँथ्यो मलाई । भोजपुरी रहसहसन पनि थाहा थियो । मेरा साथीहरु सिराहा पनि धेरै भएकाले त्यहाँ गइरहन्थे । त्यहाँ देखिरहेको हुन्थें । साथीका दाईहरु पनि कान्छाको चरित्र जस्तै थिए । त्यसकारण पनि क्यारेक्टरमा ढाल्न मलाई असहज भएन । तर डर चाहिँ के थियो भने रागव क्योक्टर गरेर कान्छा गर्दा गाह्रो हुन्थ्यो भन्ने थियो,’ पल भन्छन् ।

फिल्ममा क्यारेक्टर चेन्ज गर्दा पललाई निकै गाह्रो भएको रहेछ । ‘नेगेटिभ वाला दृश्य गरिरहँदा एकै छिनमा पोजेटिभ गर्दा मुडदेखि गेटअप सबै परिवर्तन गर्नुपर्ने हुन्थ्यो । परिवर्तनको समय र अर्को क्यारेक्टर भित्र पस्दा निकै गाह्रो हुन्थ्यो’, उनी भन्छन् ।

फिल्ममा दोहोरो चरित्रको संवाद सबैका लागि अर्को गाह्रो अनुभव रहेको पल ठान्छन् । ‘सिंगल फ्रेममा दुईजनाको संवाद छ भने त्यो जस्तो गाह्रो केही रहेनछ । एउटा सिन ओके गर्न हामीले चार टेक खिच्नुपथ्र्यो । एक्सन पार्टमा रियाक्सन लिन गाह्रो हुन्थ्यो । कान्छाले रागवलाई हिर्काउँदा, कुटाइ खाँदा त्यही स्टाइलमा लड्नु पर्यो । आधा घण्टा पछि फेरी रागव बन्नुपर्यो । रागव बनेर कान्छालाई हिर्काउँदा आवेग देखाउनुपथ्र्यो । त्यो एक्सप्रेसनहरु ग्रहण गर्न गाह्रो भयो । मेरो सहायकले मेरो एक्सप्रेसन बिग्रिएला कि भनेर हेरिरहन्थे । म एउटा जोनबाट अर्को जोनमा आउँदा एक्सप्रसेसन बिग्रन सक्छ भनेर म सम्झाइरहन्थें’, पल फाइट दृश्य सम्झन्छन् । आफ्ना लागि ‘ड्रिम क्यारेक्टर’ भएकाले पनि ‘रावायण’को चरित्रले आफूलाई एक स्टेप माथि ल्याउनेमा उनी ढुक्क छन् ।

फिल्ममा एक्सनको दृश्य पलका लागि निकै गाह्रो भएको रहेछ । ‘एक्सनको तालिम लिएर तीन चार दिनसम्म निरन्तर ४० डिग्रीको तापक्रममा फाइट गर्दा कति गाह्रो होला’, पल भन्छन् ।