चलचित्र ‘देवी’ले बलात्कार जस्तो जघन्य अपराधकाे विषयमाथि बहस ल्याउने छ : अभिनेत्री मास्के


काठमाडौं- भदाै २१ बाट चलचित्र ‘देवी’ प्रदर्शनको तयारीमा छ । चलचित्रले बलात्कार जस्तो जघन्य अपराधकाे विषय उठान गरेको निर्माण टिमका दावी रहँदै आएको छ । साेहि क्रममा चलचित्रकी अभिनेत्री शिल्पा मास्केले बलात्कारको घटना न्यूनीकरणमा बहस छेडोस् भनेर फिल्म ‘देवी’ निर्माण भएको बताएकी छन् । फिल्मको प्रदर्शनपछि यस विषयमा बहस चल्ने उनको विश्वास छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा शिल्पाले फिल्म उत्कृष्ट बनेको र सबैले हेर्नुपर्नेमा जोड दिइन् । चलचित्रमा शिल्पा पत्रकारको भूमिकामा देखिँदै छिन् । पत्रकारको भूमिका पहिलो पटक निर्वाह गरेकी शिल्पाले यो भूमिका निकै चुनौतीपूर्ण रहेको बताइन् ।

शिल्पा चलचित्रको निर्माता पनि हुन् । ‘यतिबेला महिला केन्द्रित र कन्टेन्टमुखी फिल्म रुचाइन थालिएको छ । त्यसैले हामीले सामाजिक सन्देशका लागि फिल्म निर्माण गरौँ, मिहेनत गरेर राम्रो भए व्यापारिक रूपमा पनि सफल हुन्छ भन्ने हेतुले काम गरेका हौँ’, उनले भनिन् ।

शुक्रबारदेखि प्रदर्शनमा आउने नारी प्रधान फिल्म ‘देवी’ संजोग राईले निर्देशन गरेका हुन् । बलात्कारको घटना र त्यसमा कानुनले पार्ने प्रभावको कथा उठाएको फिल्म क्राइम थ्रिलर जनरामा निर्माण भएको हो । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका हुन् ।

एक्जिबिट स्टुडियोको प्रस्तुति रहेको फिल्ममा बाँसुरी फिल्म्ससँगको सहकाय छ । नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्ममा शिल्पाको अलवा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् ।