चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न, बिहीबारबाट छायाङ्कनमा जाने


काठमाडौँ– नेपाली चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न गरिएको छ ।

बुधवार बिहान काठमाडौँको भद्रकाली मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको मुहूर्त सम्पन्न गरिएको हो । फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरू विजय लामा, सुनिल थापा, दिनेश डिसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, बेलायती अभिनेता जेमी बेकम लगायत उपस्थित थिए ।

चलचित्रको शुभ मुहूर्त पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निर्देशक प्रदीप शाहीले, चलचित्र अन्तर्राष्ट्रिय स्तरको बन्न लागेको जानकारी दिए । अरू नेपाली चलचित्रमा भन्दा ‘एक्लो’ मा दर्शकले फरकपन पाउने पनि निर्देशकको दाबी रहेको छ ।

उनले भने, ‘म नेपाली चलचित्र भन्दा पनि विश्व चलचित्र भनेर ट्याग दिन रुचाउँछु किनकि विश्व भरी कै दर्शकलाई लक्षित गरेर बाहिर अझै जाओस् भन्ने आशा हो । एकदमै राम्रो चलचित्र बन्दै छ । तपाईँहरूको सहयोगको खाँचो छ ।’

भोली बिहीबारबाट छायाङ्कन सुरु गर्ने तयारीसहित शुभ मुहूरत सम्पन्न गरेको चलचित्रले बुधवार फाइनल वर्कसप सक्दै छ । चलचित्रका निर्देशक शाही बेलायतबाट फर्किए लगतै यसको वर्कसप सुरु गरेका थिए ।

अन्तरिक्षमा नेपालबाट रकेट पठाउने विषयलाई उठान गरिने यो चलचित्रको टिम अहिले निर्माण टिम प्रि–प्रोडक्शनको तयारीमा लागि परेका छन् । शाही प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रसँग निर्माणमा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन , बेनिशा हमाल, दिनेश डि.शि, कविता नेपाली, अवोन राज उप्रेती, सुरज सिङ ठकुरी, त्रुचु राई, कृश्न भक्त महर्जन, विकास अधिकारि, दिग्गज खत्री , विनोद कुमार सुबेदी क्षितिज, श्री शेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेठ् र स्योन सविक सिङ लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने छ ।

जेमी चलचित्र एक्लोको छायाङ्कनका लागि मंगलबार मात्र नेपाल आएका हुन ।

उक्त चलचित्रका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ , विष्णु तामाङ्, उत्सव बिस्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुबेदी क्षितिज रहेका छन् । फिल्मको छायाँकारमा बाबु श्रेष्ठ तथा चलचित्रको सेट डिजाइनरमा राजु पेन्टर, आर्ट डाइरेक्टरमा सन्तोष लामा, एक्सन डाइरेक्टरमा राजु तामाङ, ड्रेस डिजाइनरमा विमल पुन तथा प्राेडक्सन डिजाइनरमा प्रेम खड्का रहेका छन्।

चलचित्रलाई ४५ दिनको समय तालिकामा काठमाडौँ र मुस्ताङमा तयार सेटमा छायाङ्कन गरिने निर्माण टिमले जानकारी दिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.