आज शुक्रबारबाट नेपाली हलहरूमा चलचित्र ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा


शुक्रबार नेपालमा दुई नेपाली र एक विदेशीसहित तीन फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ सहित बलिउडको ‘वेदा’ एकसाथ प्रदर्शनमा आएका हुन् ।

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ महिलाप्रधान कथावस्तुमा आधारित छ । छोरीको चाहनामा छोरा जन्माउन खोज्ने समाजको पितृसत्तात्मक सोचविरुद्ध संघर्ष गर्ने महिलाको कथामा यो फिल्म बनेको छ ।

फिल्मको शीर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छन् । यो फिल्मले समाजमा छोरीको योगदान र भूमिकामालाई मर्मस्पर्शी ढंगले दर्शाएको छ । १३६ मिनेट लामो यो फिल्मलाई पीजी सर्टिफिकेट प्राप्त छ । विशेषगरी महिला दर्शकलाई यो फिल्मको कथाले छुनसक्ने धेरैको अनुमान रहेको छ भने फिल्मले प्रिमियरमा पनि मज्जाको प्रशंसा पाइसकेको छ ।

फिल्ममा मलिका महतसहित हर्षिका वली, मञ्जिला बानियाँ, भोला सापकोटालगायतको अभिनय छ ।

रमित ढुंगाना निर्देशित सोसल ड्रामा फिल्म ‘नमेटिने घाउ’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । नेपालका विभिन्न भूभाग र कालखण्डमा भएका एसिड आक्रमणका घटनाका पीडितलाई लिएर बनाइएको यो फिल्मले एसिड आक्रमणविरुद्धको सन्देश दिन्छ ।यो फिल्ममा ३३ जनाभन्दा बढी एसिड आक्रमणका पीडितलाई अभिनय गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव नेपालसहित केही सांसदले यो फिल्ममा अतिथि भूमिका निर्वाह गरेका छन् । यो फिल्मको रनटाइम १६० मिनेट छ ।

जोन अब्राहम, सारवरी र अभिषेक बनर्जी अभिनित बलिउडको फिल्म ‘वेदा’ पनि आजैबाट प्रदर्शनमा आएको होे ।