यम शेर्पाको निर्देशनमा बन्ने सिनेमा ‘कार्साङ’ को छायांकन सुरु


काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने सिनेमा ‘कार्साङ’ को छायांकन सुरु भएको छ । सिनेमाको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिए ।

बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको सिनेमाको मुख्य कलाकारमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै फिल्ममार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दैछन्।

यस्तै, सिनेमामा माओत्से गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोही थापा, कर्मा शेर्पा, छुकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।
सिनेमाका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको सिनेमामा आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेका छन् ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोख संगीत निर्देशक रहने फिल्मको मुख्य सह९निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सहनिर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।