सामाजिक फिल्म ‘अग्नीदहन’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउने


काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को पोस्टर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले फस्टलुक सार्वजनिक गरेका हुन् । पोस्टर सार्वजनिक संगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। ८ बर्ष अघि निर्माण भएको चलचित्र आगामी मंसिर ७ गते बाट प्रदर्शनमा आउने भएको छ ।

कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म निर्माण हुनु सराहनीय कार्य भएको बताए । ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । अझ भनौं अमानवीय कार्य नै भएको छ’, उनले भने, ‘नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ । यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो । त्यसलाई सबैले मिलेर फाल्नुपर्छ । त्यो अभियानमा यो फिल्म सफल हुन्छ भन्नेमा आशावादी छु ।’

फिल्मका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।

फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ । फिल्मका वितरक डीसीएनका अशोक शर्माले ‘अग्नीदहन’ व्यावसायिक फिल्म नभएको बताए ।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।