एक्सन र सस्पेन्सले भरिएको ‘आउटलः दफा २१९’को टिजर सार्वजनिक


काठमाडौँ। असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको लागि विशेष बन्ने देखिएको छ । यो फिल्मको सार्वजनिक टिजरमा सुशिललको एङ्ग्री एक्सन अवतारले यस्तै संकेत गरेको हो ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि निर्माताको रुपमा छन् । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् । फिल्ममा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ ।

यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।
सार्वजनिक टिजरमा फिल्मको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ । सम्पादक साहिलले आकर्षक ब्याक ग्राउन्ड म्युजिकका साथमा टिजर तयार पारेका छन् ।

टिजरमा सुशिलको इन्ट्री गज्जब छ । अन्तिममा उनको एङ्ग्री अवतारले दर्शकको मन जित्ने देखिन्छ । फिल्मको मेकिङ उच्च देखिएको छ । संविधान दिवसको दिन रिलिज हुने यो फिल्मले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने यसको निर्माणपक्षको दाबी छ ।