जन्मदिनको दिन खगेन्द्र ‘घर नम्बर २’ मा अनुबन्धित


काठमाडौँ। खगेन्द्र लामिछानेलाई जन्मदिनको अवसरमा नयाँ फिल्म उपहार मिलेको छ । खगेन्द्रको जन्मदिनको अवसर पारेर फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा निर्माणपक्षले अनुवन्धित गरेको हो ।

बुद्धिसागरको लेखन र दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने यो फिल्मलाई साउनको २५ गतेबाट छायांकनमा लैजाने तयारी गरिएको छ । निर्माणपक्षले अब फिल्मको प्रि–प्रोडक्शनको कामलाई तिव्रता दिने बताएको छ । जसअनुसार, फिल्मको मुख्य भूमिकामा खगेन्द्रलाई फाइनल गरिएको हो ।

फिल्ममा काम गर्ने पक्का भएपछि खगेन्द्र उत्साहित देखिए । उनले, एउटा राम्रो टिम र राम्रो कथामा काम गर्न पाउँदा खुशी लागेको तर्क गरे ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अन्य कलाकारहरु एकपछि अर्को रुपमा फाइनल गर्दै जाने निर्माणपक्षले बताएको छ । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् ।

यस्तै, फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ । सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए ।