‘बेहुली फ्रम मेघौली’ को प्रमोसनल गीत सार्वजनिक



काठमाडौं।
निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको प्रमोसनल गीतसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । चलचित्र असोज १७ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ ।

सिनेमाको प्रमोसनल गीतमा अभिनेता प्रदीप खड्का, नाजिर हुसेन, धिरज मगर तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, बेनिशा हमाल, शिल्पा मास्केका अलवा निर्देशक दीपाश्री निरौला फिचर्ड छन् । उनीहरुका अलवा सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरु निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल, लोकेन्द्र लेखकलाई पनि देख्न सकिन्छ ।

रोहीत शाक्य संगीत निर्माता रहेको ‘बिहे गर्ने की नगर्ने’ बोलको ‘बेहुली फ्रम मेघौली’को गीतका शब्द रचनाकार तथा पफर्मर कुशल पोखरेल हुन् । सार्वजनिक गीतका अडियो तथा भिडियोले दर्शकलाई सिनेमाप्रति आकर्षित गर्ने देखिन्छ । विवाहको उमेरलाई व्यंग गर्ने गीतमा समावेश टिपिकल शब्दले दर्शकको मन जित्न सक्छन् । सिनेमाको सार्वजनिक गीतको भिडिया सिनेमाटोग्राफी केशव पाण्डे र लक्ष्मण पाण्डेको रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अंकित खान ठकुरीले सम्पादन गरेको गीतको भिडियो अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काको कन्सेप्ट रहेको छ। भिडियोलाई निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।