काठमाडौँ। सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट नयाँ स्वरूपमा आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजक परिवर्तन भएसँगै यसको स्वरूपमा समेत परिवर्तन गरिएको हो । यस वर्षबाट मोडल हन्ट ‘फेस अफ नेपाल’ एमएस प्रोडक्सन नेपालले आयोजना गर्ने भएको हो । यस अघि काठमाडौँ केन्द्रित हुँदै आएको यो प्रतियोगिता यस वर्षबाट भने देशव्यापी बनाउने तयारी गरिएको छ । इटहरीमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमका विषयमा जानकारी दिइयो । आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीका अनुसार यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागिता जनाउन पाउनेछन् ।
यसका लागी वैशाख १७ गतेबाट नै आवेदन खुल्ला गरिसकिएको छ । प्रबन्ध निर्देशक माझीका अनुसार यो प्रतियोगितामा १८ देखि माथिका पुरुष तथा महिला सहभागि हुन सक्नेछन् । यस्तै उचाइमा ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्ने छन् । आवेदन फारम खल्ती एप तथा अनलाइनबाट आवेदन दिनको लागी प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवश्यक पर्ने विवरण भर्नुपर्ने छ । नेपालको सातै प्रदेशमा अडिसन गर्ने तयारी आयोजकको छ ।
पहिलो अडिसन यही असार ११ गते इटहरीको होटेल उत्सवमा गरिने बताइएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले भने काठमाडौँमा गरिनेछ । छनौट प्रक्रिया अगाडी बढेपछि सहभागीका लागी देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिम दिइनेछ। सहभागी हुनेहरूमध्ये आगामी जुलाईमा हुने फिनालेमा जजको मूल्याङ्कन र भोटिङबाट तीन जना विजेता घोषणा हुनेछन्। फिनाले पश्चात् यसका विजेताहरूले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागी जनाउन पाउनेछन् । उक्त प्रतियोगितामा एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने बताइएको छ।