‘सतीदेवी’को टिजर : छोरी छोरीको जन्म हुँदाको पिडा


काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित नारीप्रधान सिनेमा ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । मलिका महतको शीर्ष भूमिका रहेको सिनेमाको टिजरले सिनेमाको कथावस्तु, चरित्र चित्रण झल्काएको छ । टिजरले समाजले छोरीप्रति गर्ने विभेदहरू झल्काएको छ । चलचित्र साउन ४ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने छ।

सिनेमाले छोराको आशामा छोरी जन्माउने र समाजले छोरीलाई हेलाको दृस्टीले हेर्ने कथा उठाएको छ । सिनेमामार्फत निर्देशक सुवेदीले छोरीको अस्वीकार गर्ने पितृसत्तात्मक सोचलाई थुप्रै प्रश्न गरेका छन् । टिजरले पनि ति कुरो झल्काएको छ ।

सिनेमाको कथा मुख्य पात्र सतीदेवी अर्थात् मलिकाको वरपर घुम्छ । छोरी भएर पनि छोरासरह उभिएर परिवारलाई जोगाउन खोजेको कथा फिल्ममा देख्न सकिन्छ ।

पछिल्लो समय महिलाको मुख्य भूमिका रहेको सिनेमा बजार भित्रिन थालेको छ । ‘सतीदेवी’ नारीप्रधान विषयमा बनेको एउटा सशक्त सिनेमा बनेको छ ।

सिनेमाले दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्ड जिती सकेको छ ।

सिनेमामा मलिका संगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । चलचित्रको वितरण काठमाडौँमा रिच इन्टरटेन्टमेन्ट र काठमाडौँ बाहिर एफडि कम्पनीले गर्नेछ।