‘सिने सर्कल अवार्ड’ मा सौगात र स्वस्तिमालाई अवार्ड


काठमाडौँ । ‘सातौं सिने सर्कल अवार्ड’ मा सौगात मल्ल र स्वस्तिमा खड्काले ‘उत्कृष्ट नायक नायिका’को अवार्ड जितेका छन् । सौगातले फिल्म ‘अगस्त्य’बाट उत्कृष्ट नायकको अवार्ड जित्दै गर्दा स्वस्तिमाले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट नायिकाको अवार्ड जितिन् । यस्तै, निश्चल बस्नेतले ‘दिमाग खराब’बाट ‘उत्कृष्ट निर्देशक’को अवार्ड जिते । ‘उत्कृष्ट फिल्म’ ‘दिमाग खराब’ बन्यो ।


यस्तै, फिल्म ‘जारी’बाट उपेन्द्र सुब्बाले ‘नव निर्देशक’को अवार्ड जितेका थिए । कार्यक्रममा सम्पादक नरेन्द्र खड्का र मेकअप आर्टिस्ट अशोक रोक्कालाई जनही ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

कार्यक्रममा पोस्टर डिजाइनरको अवार्ड ‘बुलाकी’ बाट राकेश दाहालले जित्दै गर्दा ‘उत्कृष्ट ट्रेलर’को अवार्ड बन्दे प्रसादले फिल्म ‘काँडेतार’बाट प्राप्त गरे । यस्तै, ‘उत्कृष्ट स्टन्ट’को अवार्ड फिल्म ‘काँडेतार’बाट लक्ष्मण सेञ्चुरीले प्राप्त गर्दा अञ्जु पन्तले फिल्म ‘बगान’बाट ‘उत्कृष्ट गायिका’को अवार्ड प्राप्त गरिन् ।

निशान भट्टराईले फिल्म ‘परदेशी २’बाट ‘उत्कृष्ट गायक’, अनुपम गौतम शर्माले ‘उपहार’बाट ‘उत्कृष्ट भीएफएक्स’, ‘अगस्त्य’बाट श्री श्रेष्ठले ‘उत्कृष्ट एक्सन’, रामजी लामिछानेले ‘नांगो गाउँ’बाट ‘उत्कृष्ट कोरियोग्राफर’, सुभाष भुसालले फिल्म ‘बगान’बाट ‘उत्कृष्ट संगीतकार’, निमेष श्रेष्ठले फिल्म ‘दिमाग खराब’बाट ‘उत्कृष्ट सम्पादक’को अवार्ड प्राप्त गरे ।

यस्तै, ‘उत्कृष्ट पर्दाको जोडी’को अवार्ड दयाहाङ राई र मिरुना मगरलाई प्रदान गर्दै गर्दा सुशन प्रजापतिले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट छायांकारको अवार्ड प्राप्त गरे ।

यस्तै, ‘उत्कृष्ट पटकथा’को अवार्ड ‘जारी’बाट उपेन्द्र सुब्बा, उत्कृष्ट खलपात्रको अवार्ड फिल्म ‘अगस्त्य’बाट प्रमोद अग्रहरिले प्राप्त गरेका थिए ।
यस्तै, क्रिटिक्स अवार्डतर्फ ‘उत्कृष्ट निर्देशक’को अवार्ड प्रदीप शाहीले ‘अन्तिम संस्कार’बाट प्राप्त गरे ।

क्रिटिक्स अवार्डतर्फ नै ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड फिल्म ‘बुलाकी’बाट नरेन खड्का र सुरक्षा पन्तले प्राप्त गरेका थिए । कार्यक्रममा ट्रेन्ड सेटरको अवार्ड निर्देशकद्धय रामबाबु गुरुङ र प्रदीप भट्टराईलाई प्रदान गरियो ।