‘लण्डन टु पेरिस’ को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक


काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक गरिएको छ । शुक्रबार रिलिज गरिएको यो रोमान्टिक गीतमा बियोण्डको संगीत तथा शब्द अनि बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ ।

यो डान्सिङ नम्बरको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापा फिचर्ड छन् । सार्वजनिक गीतलाई अस्कर विजेता कोरियोग्राफर लंगनेस फर्नान्डेजको कोरियोग्राफी गरेका हुन् । सार्वजनिक गीतले सिनेमामा तीन जोडीको प्रेमकथा बुनिएको बुझ्न सकिन्छ ।

सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । सिनेमा जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।