‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक,बाबुछोराको स्नेह र सम्बन्धको कथा


काठमाडौं। नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे स्पष्ट पारेको छ ।

सिनेमाको सार्वजनिक ट्रेलर बाबुछोराको स्नेही सम्बन्धबाट सुरु हुन्छ । भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा सिनेमाले भन्ने ट्रेलरले बुझाउँछ ।

अभिनेता दयाहाङ राईले विभिन्न सिनेमा महोत्सवबाट प्राप्त प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको बताए । राई समुदायको कथावस्तुमा बनेको यो पहिलो सिनेमालाई दयाहाङले करिअरकै उत्कृष्ट मध्येको सिनेमाको रुपमा लिएका छन् । जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ ।

‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

टोरन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।