भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ पुनः पदर्शनमा आउने

सिनेमामा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा सिनेमा निर्माण गरिएको छ ।


काठमाडौँ। आगामी असार ७ गतेबाट सिनेमा ‘आचार्य’ १३ वर्षपछि पुनः पदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमा पुनः प्रदर्शनको जानकारी दिइयो ।

गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित सिनेमालाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । सिनेमामा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले निवार्ह गरेका छन् । उनी सिनेमाका निर्माता पनि हुन् । पहिलो पटक सिनेमा रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताए । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाई छ । उनका अनुसार, नयाँ सिनेमाजस्तै गरी रिलिज गरिनेछ ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको सिनेमामा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरुप सिनेमा पुनः रिलिज गर्न लागेको छोरा स्वरुप राज आचार्यले बताए । ‘सायद त्यो बेला यो सिनेमाका लागि सही समय थिएन होला । अहिले एकदमै उपयुक्त समय लागेकाले सिनेमा पुन रिलि जगर्न लागिएका हो’, उनले भने ।

सिनेमामा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा सिनेमा निर्माण गरिएको छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो सिनेमाले देखाउँछ ।

सिनेमाको पुन रिलिज घोषणा कार्यक्रममा संगीतकार लक्ष्मण शेष, चेतन सापकोटा, बसन्त सापकोटा लगायतका थुप्रै सेलिब्रेटीको उपस्थिति रहेको थियो । सिनेमाको कार्यक्रममा उपस्थित अधिकांशले आचार्य पुन: रिलिज गर्नु भजन शिरोमणीको लागि अर्थपूर्ण श्रद्धाञ्जली हुने बताए ।

सिनेमाको निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको ट्रिमिङ्ग तथा पुन सम्पादनको काम ‘टुल्की’ निर्देशक देवजंग थापाले गरेका हुन् । सिनेमामा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् । यस पटक आफुहरुले दर्शकलाई पूर्ण रुपमा बायोपिक सिनेमा देखाउन खोजेको अभिनेता सत्यराज आचार्यले बताए । सिनेमाका निर्माता रोशन राई हुन् ।