प्रकाशको डेब्यू निर्देशनमा ‘वसन्त’ बन्दै , स्वस्तिमा बनिन् ‘शान्ति’


प्रकाश सपूतको होम प्रोडक्सन कम्पनीले ‘वसन्त’ सिनेमा निर्माण गर्ने घोषणा गरेको छ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा  निर्माण हुने सिनेमाबाट प्रकाशले निर्माण र निर्देशनमा एकसाथ डेब्यू गर्दैछन्।

आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच शीर्षक टिजर सार्वजनिक गर्दै ‘वसन्त’को घोषणा गरिएको हो।

सिनेमामा प्रकाशको निर्माण तथा निर्देशनसँगै अभिनय, लेखन तथा संगीतसमेत रहनेछ ।

‘वसन्त’मा अभिनेत्री स्वस्तिमा खड्का प्रकाशको जोडी  बनेकी छन् । सिनेमामा उनले ‘शान्ति’ नामक पात्र निर्वाह गर्नेछिन्।

सिनेमामा प्रकाश तथा स्वस्तिमाको साथमा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपालको पनि अभिनय रहनेछ ।

सिनेमा आगामी चैते दशैमा रिलिज हुनेछ भने भदौबाट फ्लोरमा जाने जानकारी निर्माणपक्षले दिएको छ।

त्यसअघि प्रकाशले सेभेन सीजको ‘पूर्णबहादुरको सारंगी’मा काम सक्नेछन् ।

मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन सिनेमाका कार्यकारी निर्माता हुन्।

कार्यक्रममा प्रकाशले यो सिनेमाले आफ्नो जीवन अनुभव समेट्ने बताए।

‘मैले जस्तो जीवन भोगेँ, त्यसैको चित्रण फिल्ममा गरिएको छ । त्यसलाई अलिकति फिल्मांकन गरेका छौं । केही वास्तविक घटना-परिघटनालाई पनि बुनिएको छ ।’, उनले भने, ‘फिल्ममा त्यस्तो उतार-चढाव छैन । फूलफूल गाँसेर माला बनेजस्तै हाम्रा दुःख-सुःख गाँसेर ‘वसन्त’ बनेको छ ।’

आज सार्वजनिक गरिएको ‘वसन्त’को शीर्षक टिजरले सिनेमाले विद्यमान वर्ण व्यवस्था र जात व्यवस्थाबाट सदियौंदेखि पिल्सिएको एउटा तप्काको कथा सिनेमाले पेस गर्नेछ ।

यसैगरी स्वस्तिमाले ‘वसन्त’ रिलिजपछि पनि वर्षौंसम्म कुरा गरिने सिनेमा हुने विश्वास व्यक्त गरिन्।

(फोटोः सुरेन्द्र थापा)