अनमोलको चलचित्र ‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’


काठमाडौँ । सिनेमा ‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ । गायक, संगीतकार तथा गीतकार नरेन लिम्बुको सुपरहिट गीतलाई फिल्ममा समाबेश गरिएको हो ।

स्रोताले निकै मन पराएको यो गीतको भिडियो भने बनेको थिएन । सिनेमा ‘फर्की फर्की’को टिमले यसको भिडियो फिल्मको भाव अनुसार तयार पारेको छ ।

‘फर्की फर्की’ सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको सिनेमा हो । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङको प्रेम वियोग देखाइएको छ । अनमोल र जसिताको प्रेममा असमझदारी आएपछि उत्पन्न हुने परिस्थितिलाई यो गीतको भिडियोमा देखाउने कोसिस गरेको छ ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार भएको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् । मोती कार्की र अनि रुद्र गिरी फिल्मका कार्यकारी निर्माता हुन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमामा किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन छ । फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।