क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा रविन आचार्यलाई २ अवार्ड


काठमाडौँ। १३ औं संस्करणकाे क्विन्स वर्ल्ड फिल्म फेस्टिभल- २०२४ मा नेपालका सिनेमाटाेग्राफी रविन आचार्यले दुई अवार्ड हात पारेका छन्।

उनले ‘राेटन ब्लड’ सिनेमाबाट स्पेसल मेन्सन (सिनेमाटाेग्राफी) अवार्ड र ‘मनु’ सिनेमाबाट फाउन्डर चाेइस अवार्ड प्राप्त गरेका हुन्।

बेस्ट सिनेमाटाेग्राफीमा मार्सेल लाेबेनविनकाे काेडा, लि‌ओ काल्जाेनीकाे सिएला, स्कट टी समर्सकाे मिरान्डा अफ माइन्ड र विलियम मुरेकाे द डार्क फरेस्ट संगको प्रतिस्पर्धामा आचार्यले उक्त अवार्ड जितेका हुन्।

यसभन्दा अगाडि आचार्यले छायांकन गरेको नेपाली कथानक चलचित्र ‘डाइङ क्याण्डल’ले क्विन्स वर्ल्ड फिल्म फेस्टिभल- २०१६ मा उत्कृष्ट सिनेम्याटोग्राफीकाे अवार्ड जितेका थिए।

‘डाइङ क्याण्डल’ चलचित्रको विधामा अध्यापन गराउने विश्वकै उत्कृष्ट मानिएको अमेरिकाको विश्वविद्यालय ‘युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया स्कुल अफ सिनेम्याटिक आर्टस’ मा विशेष प्रदर्शनीसमेत भएकाे थियाे।

नेपाली रजतपटमा चलचित्र निर्माता तथा क्यामेराम्यानको रूपमा उदायका उनले कलात्मक चलचित्रले मात्र समाजको यथार्थ उजागर गर्न सक्छ भनेर आफ्नै कम्पनी नेसनल मिडिया प्रोडक्सन प्रालिको ब्यानरमा चलचित्र ‘डाइङ क्यान्डल’को निर्माण एवं छायांकन गरेको थिए।

आचार्यको कामको तारिफ गर्दै नेपाल चलचित्र विकास बार्डले आफ्नो १६औं वार्षिकाेत्सवको अवसरमा उत्कृष्ट सिनेम्याटोग्राफरको अवार्ड प्राप्त गरेका आचार्यलाई बधाई तथा सम्मान पत्र प्रदान गरेको थियो ।

उनी डी सिने डायस्पोरा अवार्ड–२०१६, बेष्ट सिनेमाटोग्राफी फान फिल्म अवार्ड–२०१७, बेष्ट सिनेमाटोग्राफी कामना फिल्म अवार्ड– २०१७, बेष्ट सिनेमाटोग्राफी इनास फिल्म अवार्ड– २०१७, जुरी अवार्ड एनएफडिसी नेसनल फिल्म अवार्ड– २०१७, बेष्ट सिनेमाटोग्राफी अवार्ड सिंगापुर साउथ एसियन इन्टनेशनल फिल्म फेस्टिभल– २०१८ बाट सम्मानित भइसकेका छन्।

विधागत रूपमा अरू थुप्रै सम्मान तथा अवार्ड पाइसकेका आचार्यले नेपाली कथानक चलचित्र धूलो, केटिएम कक्टेल, चंगा, चक्कर, जयश्री दाम, लगायतका सिनेमा छायाँकन गरिसकेका छन्।

साथै उनले युरोपियन फिल्मस कम्पनी लासराज पिक्चर्सद्वारा निर्माण तथा इटालियन निर्देशक सर्जियो वासोद्वारा निर्देशित सरिता-टेल मी हु आइ एम फिल्म पनि सफलतापूर्वक छायांकन गरिसकेका छन्।

अस्कर कलेज अफ फिल्म स्टडिजबाट छायाँकन विधामा स्नातक हासिल गरेका आचार्यले २०२२ मा राष्ट्रपति विद्या भण्डारीकाे हातबाट राष्ट्रिय विशेष चलचित्र अवार्ड पनि हात पारेका थिए। उनले ‘टेल मी हु आइ एम (सरिता)’बाट उक्त अवार्ड हात पारेका हुन्।

नेपाल चलचित्र प्राविधिक संघमा ३ वर्ष कार्यकारी सदस्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका आचार्य नेपाल चलचित्र निर्माता संघका सक्रिय सदस्य पनि हुन्।

झण्डै दशकभन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हेटौंडा– ९, मकवानपुर स्थायी घर भएका रविन आचार्य एक कुशल प्राविधिकका रूपमा स्थापित छन्।

हेटौंडाको प्रगति माविबाट एसएलसी पास गरी हेटौंडाकै हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सबाट प्लस टू सकेर २०६१ सालमा काठमाडौं प्रवेश गरेका रविन आचार्यले आफ्नो अध्ययनसँगै पेशागत करिअरलाई पनि अगाडि बढाएका थिए।

आरआर क्याम्पसबाट मास कम्युनिकेसन एण्ड जर्नालिजममा फोटोग्राफी विषयमा स्नातक पूरा गरेका आचार्यले विभिन्न टेलिभिजनमा लामो समय क्यामेराम्यान भएर काम गरिसकेका छन्।

सानैदेखि कला क्षेत्रमा रुचि राखेर अगाडि बढेका आचार्यले आइसिटी नेपालले निर्माण गरेको नेपाल टेलिभिजनको कार्यक्रम ‘इन्टर’मा कोअर्डिनेटर र क्यामेराम्यानको रूपमा तीन वर्षभन्दा बढी समय बिताएका थिए। कला क्षेत्रमा केही गर्नुपर्छ भनेरै आचार्यले अस्कर कलेज अफ फिल्म स्टडिजबाट छायाँकन विधामा स्नातक गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.