कामना फिल्म अवार्ड्सका लागि आवेदन खुला


सेलिब्रेटी नेपाल काठमाडौँ
फिल्मी पत्रिका कामना मासिकले प्रकाशनको तीस वर्षको मौका पारी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा यस वर्षबाट आयोजना गर्न लागेको ‘कामना फिल्म अवार्ड्स’का लागि आवेदन खुला गरेको छ। आयोजक कामना मासिकले अवार्डमा सहभागी हुनका लागि २०७० साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शित नेपाली फिल्मलाई आवेदन गर्न आव्हान गरेको हो।
Kamana-film-awards
आयोजकले अवार्डमा सहभागी हुन इच्छुक नेपाली भाषामा बनेका कथानक फिल्मका निर्माताहरूले कामना न्यूज पब्लिकेसन्स्को कार्यालयमा सम्पर्क राखि फिल्म विकास बोर्डबाट प्राप्त फिल्म निर्माण इजाजतपत्रको फोटोकपिसहित आवेदन दिनसक्ने प्रावधान राखेको छ। च्यारिटी शोका लागि बनाइएका फिल्म भने अवार्डमा सहभागी हुन पाउने छैनन्। आयोजकका अनुसार आगामी असार १ देखि १५ गतेसम्म भरिसक्नुपर्नेछ।

अवार्डलाई प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धी रुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ। कुल ३१ विधामा प्रदान गरिने अवार्ड समारोहमा एकजना कलासाधकलाई १ लाख रुपियाँ नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिने छ। कामना फिल्म अवार्डस्मा मुख्य अवार्ड तर्फ सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हास्य कलाकार, सह–अभिनेता, सह–अभिनेत्री, संगीतकार, गीतकार, पाश्र्व गायक, पाश्र्व गायिका, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री र बालकलाकार विधामा अवार्ड प्रदान गरिनेछ।

त्यसै गरी प्राविधिक अवार्डतर्फ सर्वोत्कृष्ट कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, नृत्य निर्देशन, ध्वनि मिश्रण, पाश्र्व संगीत, द्वन्द्व निर्देशन र शृङ्गार विधामा अवार्ड प्रदान गरिनेछ । क्रिटिक्स अवाड तर्फ सिजी संगीत क्रिटिक्स अवार्ड, सिजी फेशन क्रिटिक्स अवार्ड र सिजी नाटक क्रिटिक्स अवार्ड प्रदान गरिनेछ। यसका अलावा एक फिल्म वा कलाकार,प्राविधिकलाई जुरी अवार्डबाट पुरस्कृत गरिने कार्यक्रम रहेको छ। कामनाका सम्पादक विदुर गिरीका अनुसार अवार्डको आन्तरिक तयारी जारी छ भने छिट्टै नै अवार्डको तिथि घोषणा गरिनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.