‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ मा निश्चल र साम्राज्ञी बने रोमान्टिक


काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा युवापुस्ता माझ चर्चित संगीतकार हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा डेव्यु अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । लण्डनमा खिचिएको गीतका रमणीय दृश्यले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।

सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी, निश्चल खड्का, कविर खड्का र गरिमा शर्माका अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् । सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । सिनेमा जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।