वैशाख ६ देखि रामेछापमा तेश्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) हुँदै


वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ)को तेस्रो संस्करण हुने भएको छ।

मन्थलीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव हुने जानकारी दिइएको हो ।

ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, लघु फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्महरु महोत्सवमा प्रदर्शन हुनेछन् ।

महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम समेत हुने जानकारी पत्रकार सम्मेलनमा दिए ।

रामेछाप नगरपालिकाको सभा हलमा आयोजना हुने महोत्सवमा २ दर्जनभन्दा बढी फिल्म प्रदर्शन गरिनेछ।

गृहजिल्लामा महोत्सव गर्न पाउँदा उत्साहित बनेको महोत्सव संयोजक निर्देशक कमल एक्चै मगरले बताए ।

सिनेमा हल नै नभएको रामेछाप जिल्लाका स्थानीयहरु सिनेमा हेर्न ५० किलोमिटरको यात्रा तय गरेर सिन्धुली पुग्नुपर्छ ।

आयोजकले महोत्सव फिल्मप्रति रुचि हुने दर्शकका लागि महोत्सव फलदायी सावित हुने र नेपाली फिल्मको प्रचार-प्रसारमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

महोत्सवमा ३ हजारभन्दा बढी स्थानीय दर्शक सहभागी हुने अनुमान छ ।