‘बोक्सीको घर’ले आफ्नो पहिलो गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक गरेको छ ।
गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ ।
अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म आगामी वैशाख १४ गते रिलिज हुँदैछ ।
गीतको भिडियोमा अभिनेत्री केकी र फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ ।
गीतको भाव अनुसार दृश्य अपुरो छ ।
निर्माण पक्षले यसलाई ‘सस्पेन्स’ मा राखेको छ ।
केही समयअघि नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको टिजरले राम्रै चर्चा पाएको थियो ।
आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर अभिनेत्री केकीले यो फिल्म निर्माण गरेकी हुन् । उनले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् ।
महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो ।
फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । राज घिमिरे फिल्मका कार्यकारी निर्माता हुन् ।
लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।