नेता ओली र अभिनेता हमालबिच कला संवाद


काठमाडौँ। महानायक राजेश हमाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच कला तथा सिनेमाका बारेमा संवाद भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन मानव जीवन र कलालाई केन्द्रमा राखेर संवाद भएको हो ।

सन २०१८ मा ओली नेतृत्वको सरकार कलाकारसहित भारत भ्रमणमा गएको प्रसंग जोड्दै कला अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित रहेकाले अन्य क्षेत्र जस्तै कला क्षेत्रमा पनि राजनीतिको रंग आउने बताए । त्यस्तै ओलीले पनि मानव सभ्यता अहिलेको अवस्थामा आइपुग्न कलाको महत्वपूर्ण भूमिका रहेको बताए । कलालाई कसरी लिनुभएको छ भन्ने हमालको प्रश्नमा ओलीले भने, ‘जीवन नै कलासँग सम्बन्धित छ । मानव सभ्यता कृषी, पशुपालनमा जाँदा पनि जंगली जनावरलाई तालिम दिने कला चाहिन्थ्यो ।’ साथै सुरक्षा, सिकाइ तथा बाँच्नका लागि गर्नुपर्ने सबै काम कला रहेको उनले जोड दिए ।
हस्तकला, चित्रकला, साहित्य तथा सिनेमा जस्ता कलाका फरक माध्यम पनि मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको बताउँदैँ उनले भने, ‘टुँडालदेखि अनुहारसम्म कुनै पनि वस्तुलाई सुन्दर ढंगले प्रस्तुत गर्नु कला हो । यसरी नै संस्कृतिको विकास भएको हुन्छ । कला, संस्कृति, साहित्य र जीवन जोडिएर आएको हुन्छ ।’

जीवनको तितो यथार्थलाई झेल्नका लागि कलाले खेल्ने भूमिकाका बारेमा हमालले जिज्ञासा राख्दा जवाफमा ओलीले भने, ‘सक्रिय मान्छे अचेत भएर सुतेको पनि हुन्छ । मानव जीवनका विभिन्न पक्ष, अवस्था, परिस्थिति हुन्छन् । त्यसलाई कसरी झेल्ने भनेर पनि कलाको विकास भइरहेको हुन्छ । आधारभुत कुरा जीवन हो, कला नबुझेका मान्छे पनि जीवन पनि बाँचेका हुन्छन् । तर, मानव जीवन फरक छ । अर्थपूर्ण रुपमा बाँच्न खोज्छ । त्यसका लागि कला चाहिन्छ ।’
कला बिना पनि जीवन चल्ने भएकाले मानव जीवनमा यसको आवश्यकताका बारेमा जिज्ञासा राख्दै हमालले भने, ‘कला अनावश्यक आवश्यकताको रुपमा पनि लिइन्छ । कलालाई बुझ्ने मान्छेले जीवनलाई सन्तुलनमा राख्न, गहिराइमा जान सक्ने क्षमता राख्छ भनिन्छ । यसमा तपाईंको राय के छ ?’
‘मेरो विचारमा मानव जीवनका लागि कला अत्यावश्यक आवश्यकता हो ।’ जवाफमा ओलीले भने, ‘युवावस्थाको मान्छेले दाल भात मात्र भन्दैन प्रेम जोड्छ, आमाले सन्तान प्रतिको स्नेह, माया ममता जोड्छ, मायाले जाडो मेट्दैन तर जाडो बिर्साउने क्षमता राख्छ । कलाको महत्व पनि दैनिक जीवनमा त्यस्तै हुन्छ ।’ कला भावनाबाट प्रेरित भए पनि राजनीति भने यथार्थबाट प्रेरित हुने ओलीले बताए ।

कलाको क्षमताका बारेमा बोल्दै हमालले यो झुट भए पनि यसले मान्छेलाई आफ्नो सत्यता पत्ता लगाउन सहयोग गर्ने भनाइ राखे । जसमा उदाहरण दिँदै ओलीले महाभारत, भागवत गीता कथा भएर पनि मानिसलाई बहकाउन सक्ने क्षमता भएका कारण यो पूर्ण रुपमा यथार्थ र पूर्ण रुपमा झुट दुवै नरहेको बताए ।
‘मानव समाज कथाकै प्रभावमा संगठित भएका छन् । मानिसले नै भावनाले वा बोद्धिकताले रचेका बुनेका कथा हुन् । कथामा मानव जाति भुलेका छन् ।’ बौद्धिकता भन्दा भावना बढी शक्तिशाली हुने भन्दै हमालले जोडे, ‘भावनाले रचेका कथालाई अन्य विचारले ढलाउन सक्दैन । बौद्धिकताले बनेका कथा ढलाउन सक्छन् ।’ मानव जातिको रचना शक्ति र त्यसको प्रभावका बारेमा बोल्दै ओलीले जोडे, ‘मान्छेले आफै भगवान बनाउँछ, अर्कोतिर भुत बनाउँछ, मसान बनाउँछौँ । अनि त्यसैले मान्छेलाई खान्छ । तर जंगलको हरिणको बच्चालाई मान्छेले बनाएको भुतले खान सक्दैन ।’ जसकारण मान्छेको जीवन पनि फिक्सन र यथार्थको मिश्रण रहेको उनले बताए ।

मान्छेले बनाएका कथाको राजनीतिक संसारमा पारेको प्रभावका बारेमा बोल्दै हमालले भने, ‘राजनीतिमा पनि मान्छेले आफ्नो आइडियोलोजीमा विश्वास गर्छ । त्यो संभव होस् नहोस्, त्यता पनि कहानीमा विश्वास गरेका हुन्छन् । आफ्नो आफ्नो कथामा हामी विश्वास गरेर त्यसकै छाता मुनि अडिग भएर बसेका हुन्छौँ । त्यसरी कथाले मान्छेलाई विभाजित पनि गरिरहेको छ ।’ त्यसमा समाधानका बारेममा बोल्दै ओलीले भने, ‘त्यस्तो अवस्थामा अनुमानित होइन, नयाँ यथार्थ कथा बनाउनुपर्छ । अधिकार, अवसरमा समानता हुनुपर्छ ।’ बर्तमान अवस्थाका आवश्यकतालाई हेरेर विश्वभर समानता कायम गर्न असम्भव भएमा एक समयमा आवश्यकता नै फेरिने पनि उनले जिकिर गरे ।

साथै जीवनमा उपलब्ध वस्तु तथा सुविधामा सन्तुष्ट रहँदै रस भर्दै जीवन यापन गर्नुपर्नेमा उनले जोड दिए । उनलाई कस्ता फिल्म मन पर्छन् ? भन्ने हमालको जिज्ञासामा ओलीले भने, ‘कहिलेकाहीँ फुर्सदको समयमा फिल्म हेर्छु । जसमा देशभक्ति, चतनामुलक र मनोरञ्जनात्मक फिल्म प्राथमिकतामा पर्छन् । फिल्म हेर्दा त्यसको कथावस्तु र त्यसलाई प्रस्तुत गर्ने कलाकारहरु कति पात्रको रुपमा निस्के भन्ने कुरा हेर्छु ।’ कार्यक्रममा बोल्दै ओलीले नेपाली फिल्मलाई विश्व बजारमा सफलता दिलाउनका लागि यसको गुणस्तरमा ध्यान दिनुपर्नेमा पनि जोड दिए ।
काठमाडौंमा जारी सातौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमा संवाद र नेपाली फिल्मको नयाँ बजार र अवसरका बारेमा छलफल सहित दुई दर्जन फिल्म तथा डकुमेन्ट्रि प्रदर्शन भएका छन् । जसलाई दर्शकले छाया सेन्टर, सिभिल मल, लभिम मल र भक्तपुर भाटभटेनिमा रहेका क्युएफएक्सका हलमा हेरेका छन् । चैत १ गतेदेखि सुरु भएको महोत्सव ५ गतेसम्म चल्नेछ ।