पर्दामा फेरिदैं प्रदीप, अनमोल कहिले?


कलाकारले पर्दामा आफ्नो पात्रलाई सजिव गराएमात्र ऊ कलाकार हुनुको औचित्य पुष्टि हुन्छ। संसारमा पर्दामा आफूलाई सजिव तुल्याउने कलाकारहरुको सूचि लामो छ। यसका लागि उनीहरुले आफ्नो शरिर र स्वास्थ्यलाई समेत खतरामा पारेका उदाहरणहरु छन्।

छिमेकी राष्ट्रको बलिउड सिनेनगरीका चल्तिका स्टार अभिनेताहरु बितेको दशकमा सुत्रात्मक शैली भन्दा फरक सिनेमामा काम गर्न थालेका छन् ।

पछिल्लो समय बलिउड अभिनेताहरु आमिर खान, शाहरुख खान, ऋतिक रोशन लगायतका कलाकार आफूले गर्दै आइरहेका भन्दा फरक भूमिकामा आफूलाई प्रस्तुत गर्दै आइरहेका छन्। उनीहरु  ‘लार्जर देन लाइफ’ सिनेमाको चिटिक्क-ह्यान्डसम अवतारलाई छोड्दै भिन्न अवतारमा प्रस्तुत हुन थालेका छन्।

नेपालमा भने त्यो प्रचलन एकाधमात्रामा सुरु भएपनि चक्लेटी अनुहार परेका हिरोहरु यो बाटोमा छैनन्।

अनमोल केसी र प्रदिप खड्का अहिलेका पहिलो रोजाइका चकलेटी अभिनेतामा पर्छन्।

अनमोल केसी आफ्नो करियरको सुरुदेखि नै रोमान्टिक भूमिकामा पर्दामा प्रस्तुत हुँदै आइरहेका छन्। केही सिनेमामा उनले एक्सन गरेपनि उनको छवि ती सिनेमामा रोमान्टिक हिरोको नै रहेको छ। अनमोलपछि प्रदिप खड्का नेपाली निर्माता-निर्देशकका अर्को रोजाइका रोमान्टिक हिरो हुन्।

आफ्नै निर्माणको ‘स्केप’बाट नेपाली रजतपटमा प्रवेश गरेका प्रदिपलाई ‘प्रेमगीत’ले लोकप्रियताको शिखरमा पुर्‍यायो। यो लोकप्रियताले उनले यो सिरिजका तीन सिनेमा खेलिसकेका छन्। तेश्रो सिरिजको हिन्दी डब संस्करणले त उनलाई भारतमा समेत चिनाउने काम गर्‍यो।

यी सिनेमामा रोमान्टिक छविमा रहेका प्रदिपले ‘प्रकाश’ सिनेमाबाट आफूलाई ३६० डिग्रीमा परिवर्तन गरे। उनी पर्दामा जुम्लाको ग्रामिण युवाका रुपमा प्रस्तुत भए। उनको कामले तारिफ बटुल्यो यध्यपी यो सिनेमा आफ्नो लेखनका लागि समीक्षकीयरुपमा केही आलोचित नबनेको होइन। यी सबका बाबजुत अभिनेताका हिसाबले उनले गरेको यो परिवर्तनले तारिफ बटुल्यो।

पछिल्लो समय उनी ‘पूजार सार्की’मा अभिनय गरिरहेका छन्। हाल फ्लोरमै रहेको सिनेमाको केही दिन अगाडि सार्वजनिक तस्विरले खड्का आफूलाई थप चुनौती दिन गइरहेका छन् भन्ने संकेत मिलेको छ।

सार्वजनिक तस्विरमा लामो कपालमा धुलोमैलो कपडामा दमाहा बजाउँदै गरेको देख्न सकिन्छ। सार्वजनिक गरिएका दुई तस्विरमा उनले लामो कपालमा कालो टोपी र कालै रंगको स्टकोट लगाएका छन्।

सिनेमामा ‘मैत बहादुर परियार’को भूमिकामा छन् ।

यसले प्रदिपले आफ्नो लभरव्वाइ इमेजलाई परिवर्तन गर्दै आफू पनि गम्भिर अभिनेतामा गनिन चाहेको बुझ्न सकिन्छ। हाल लगालग सिनेमा साइन गरिरहेका प्रदिप कृषा चौलागाईंको निर्देशनमा तयार हुने ‘पिताम्बर’ सिनेमामा फरक रुपमा प्रस्तुत हुने चर्चा छ। प्रदिपलाई पर्दामा फरक देखाउने चाहानामा पहिलो चरणको छायाँकन सकेकी निर्देशख चौलागाईं यसैका लागि थाइल्याण्ड जान लागेकी छन्।

यसरी प्रदिपले आपूलाई पर्दामा परिवर्तन गरिरहँदा अर्का अनमोल केसी भने रोमान्टिक सिनेमामै रमाइरहेका छन्।

‘छड्के-२’बाट ग्याङस्टर लुकमा सफल हुने आशामा रहेका उनको यो सिनेमा वक्सअफिसमा धुलिसात भएपछि उनी पुनः सुरक्षित बाटोमा फर्किएका छन्। ‘फर्की फर्की’बाट उनी पर्दामा पुनः रोमान्टिक हिरो बनेर फर्कदैछन् भने त्यसपछि केही सिनेमामा पनि उनले आफ्नो रोमान्टिक अवतारलाई निरन्तरता दिनेछन् ।

प्रदिप र अनमोललाई प्रतिष्पर्धी अभिनेता मानिन्छन्। उनीहरुले प्रत्यक्ष एकअर्कालाई केही नभने पनि अप्रत्यक्षरुपमा उनीहरुबिच प्रतिष्पर्धा हुने गरेको छ। प्रदिपले आफूलाई पर्दामा भर्सटायल शैलीमा पेस गर्दै राम्रो अभिनेताको छवि बनाएर अनमोललाई चुनौती दिइरहेका छन्।

प्रदिपले यसरी आफूलाई परिमार्जन गरिरहँदा अनमोलका लागि यो परिमार्जनको मनोवैज्ञानिक दबाब पर्ने निश्चित छ। समभवतः अनमोलले यसलाई अनुभव गरेको हुनुपर्छ। यस्तोमा सुरक्षित बाटो हिँडिरहेका अनमोललाई प्रदिपले राम्रो अभिनेता को भन्नेमा बाजी नमार्लान भन्न सकिन्न।

आशा गरौं प्रदिप जस्तै अनमोल पनि पर्दामा भर्सटायल भएर देखापर्नेछन्।