पहिलो दिन ‘रङ्गेली’को देशभर ७० प्रतिशत अकुपेन्सी


काठमाडौं। रिलिजको पहिलो दिन नेपाली चलचित्र ‘रङ्गेली’ले उत्साहजनक सुरुवात गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका अधिकांश हलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रह्यो । नेपालको सबैभन्दा ठुलो सिनेमा हल क्यूएफएक्स सिनेमामा अपेक्षित शो सङ्ख्या नआएता पनि प्राप्त प्रायः शो हाउसफुल रहेका छन् ।

चलचित्रका वितरक गोविन्द शाहीले दिएको जानकारीअनुसार देशभर औसतमा मूल्याङ्कन गर्दा शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी रहेको छ । देशभरका कतिपय हलहरूमा हाउसफुल दर्शक देखिए भने कतिपयमा बढी जसो सिट भरिएका छन् । अधिकांश हलहरूमा शो टाइम सुरु हुने समयमा बिक्री भइरहेको कारण दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।

आफ्नै वरपरको जस्तो महसुस हुने समय अनुसारको कथा र कथा भन्ने शैली मन परेको प्रतिक्रिया दर्शकले दिएका छन् । यस प्रकारका चलचित्रहरू नेपालमा बन्न जरुरी रहेको र त्यो ‘रङ्गेली’मा पाएको दर्शकले बताएका छन् । चलचित्र नयाँ निर्देशकले बनाएको जस्तो नलाग्ने तथा कतिपय पहिलो पटक अभिनय गरेका कलाकारहरूलाई पनि अनुभवी अभिनयमा देखेको दर्शकको प्रतिक्रिया छ ।

दर्शकले चलचित्रको मेकिङ र क्लाईमेक्समा बढी मनोरञ्जन लिएको देखिएको छ । हलहरूमा दर्शकसँग साक्षात्कार गर्न पुगेका लेखक तथा निर्देशक अर्जुन सुवेदीले एकदमै धेरै उत्साहित भएको बताए । काठमाडौंको चाबहिलस्थित एफक्यूब सिनेमाजमा हाउसफुल दर्शकमाझ भेटिएका सुवेदीले आफू हिजोसम्म निकै ‘नर्भस्’ रहेको तर आज भने उत्साह थपिएको प्रतिक्रिया दिए । उनले भने, “दर्शकलाई मन परिरहेको छ भन्ने हल आएपछि थाहा पाएँ । ‘सेकेन्ड हाफ’को ‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले कसरी लिनुहुन्छ भन्ने शङ्कामा थिएँ तर त्यसैमा दर्शकले मनोरञ्जन लिएको पाएको छु । ब्याकराउन्ड स्कोरलाई लिएर पनि तारिफ भइरहेको रहेछ । कलाकारहरूलाई जसरी भिन्न तवरले पर्दामा ल्याउने कोसिस गरेँ त्यसमा म सफल भएको रहेछु । एकदमै खुसी छु ।”

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।

सुशन प्रजापतिले छायांकन गरेको चलचित्र ‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।