‘महाजात्रा’ टिम पोखराबाट बुटवलतर्फ


काठमाडौं। प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘महाजात्रा’को टिम यतिवेला सिनेमा प्रचारका मोफसल टुरमा छ । सोमबार सिनेमाको निर्माण टिमले पोखरा पुगेर पोखरा सभा गृहमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रमको आयोजना गरेको थियो ।

त्यसअघि सिनेमाको निर्माण टिमले पोखरामा पत्रकार सम्मेलनको समेत आयोजना गरेको थियो । जहाँ सिनेमाका मुख्य कलाकार हरिवंश आचार्य, निर्देशक प्रदीप भट्टराई निर्माता रविन्द्र सिंह बानियाँ, अभिनेत्री वर्षा राउत उपस्थित थिए । ‘महाजात्रा’को टिमले आज बुटवलमा पत्रकार सम्मेलन गर्दैछ।

चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा लेखक तथा निर्देशक प्रदीप भट्टराईले ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि ‘महाजात्रा’को उद्देश्य मनोरञ्जन दिने भएकाले सिनेमा हेरर हलबाट फर्किंदा दर्शकले मनोरञ्जनसँगै गहिरो सन्देश लिने बताए ।

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले ‘महाजात्रा’मा आफूले इन्ट्री पाएकोमा खुसी व्यक्त गरेका थिए । उनले भने, ‘षट्कोण भित्र मलाई पनि छिराउनु भयो । राम्रो अवसर पाएँ । प्रमुख भूमिकामध्ये एउटा भूमिकाको जिम्मा लगाउनुभएको छ ।’

अभिनेत्री वर्षा राउतले सिनेमा राम्रो बनेको बताइन् । कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले अघिल्लो सिनेमा ‘जात्रै जात्रा’को क्लाइमेक्स पोखराकै फेवातालमा खिचिएको स्मरण गर्दै यो सिनेमालाई पनि दर्शकले रुचाउनेमा आशावादी रहेको बताए । चलचित्र आगामी चैत्र ९ गतेबाट विश्वभरका सिनेमा घरमा एकसाथ प्रदर्शनमा आउनेछ ।

चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको सिनेमामा अभिनय छ ।

सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।