भजन शिरोमणिको अन्तिम बिदाइ,प्रचण्ड र ओलीले दिए श्रद्धाञ्जली


काठमाडौँ । भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् ।

आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । स्वरसम्राट नारायण गोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ ।

गायकसँगै संगीतकारसमेत रहेका आचार्यले झण्डै ५ सय को हाराहारीमा गीत गाएका छन्। उनले अन्य गीतको तुलनामा भजन बढी गाएका छन्। त्यसैकारणले उनले भजन शिरोमणिको उपाधि पनि पाए ।

मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत उनका गीत लोकप्रिय छन् ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।