‘पिताम्बर’ शुभमुहूर्त संगै छायांकन सुरु


काठमाडौं। कृषा चौलागाईको निर्देशनमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रका बाल कलाकारले मुहूर्त सट दिएको जानकारी निर्देशक चौलागाईले दिइन् ।

चलचित्रको नवलपरासी पश्चात बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक तथा निर्मात्री कृषा चौलागाईले बताइन् । चलचित्रको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन गरिनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल दोस्रो सेड्युलमा मात्रै जोडिनेछन् ।

निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय चलचित्र हो । चलचित्रमा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’ लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रको निर्मातामा विशाल चौलागाई छन् । चलचित्रको तीन चरणमा छायांकन हुनेछ । यसपछि सिनेमाको बाकी छायांकन बैशाख र असार-साउनमा हुनेछ ।

चलचित्रमा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । उनी दोस्रो चरणको छायांकनमा जोडिनेछन् । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रलाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन् ।