‘गोर्खा वारियर’ को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक


काठमाडौँ। आगामी फागुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’ मा समाबेश गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जय जय गोर्खाली’ बोलको गीतमा राजेश पायल राईको स्वर शैलेन्द्र खनाल ‘शरद’ को शब्द रचना र एलिस कार्कीको संगीत रहेको छ। गीतले गोर्खालीहरुको वीरताको बर्णन गरेको छ।

एक्सन र ऐतिहासिक जनरामा निर्माण गरिएको यो चलचित्रमा मिलन चाम्सको निर्माण र निर्देशन छ । चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राई,आरुस जंग सारु लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

‘गोर्खा वारियर’ नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन गरी चार भाषामा निर्माण गरिएको छ । चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अङ्ग्रेजी संस्करणको निर्माण पनि अन्तिम चरणमा छ ।

चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको सङ्गीत, राजेश पायल राईको गायन रहेको छ ।

चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

केही समय अघि बेलायतमा रेड कार्पेट प्रिमियर गरिएको यो चलचित्र ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डको प्रारम्भिक मनोनयनमा परेको छ । चलचित्र नेपालमा श्री बेंकेटेस फिल्मसका मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् ।