‘गोर्खा वारियर’ मा नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ :निर्देशक चाम्स



काठमाडौँ । चलचित्र निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ले नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको बताए । नयाँ अनुहारलाई चलचित्रमा प्रस्तुत गरी नेपालीहरुको गौरवलाई चलचित्रमा देखाउन खोजिएको उनले बताए ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै निर्देशक चाम्सले चलचित्र गोर्खा वारियर ७० वर्ष अघिको इतिहासलाई चलचित्रमा देखाउन खोजिएको बताए । नेपाली मौलिक सामाजिक कथावस्तुका साथै युद्धमा गोर्खाली सेनाहरुको वास्तविक कथावस्तुमा आधारित भएर चलचित्र निर्माण गरेको उनको भनाई छ । नेपाली चलचित्र गोर्खा वारियर गार्खाली सेनामा आवद्ध रहेकाहरुको जीवनको भोगाइ र पिडाहरुलाई समावेश गरी कलाकारको भूमिकामा पनि सोही अनुरुप मौलिक पन चलचित्र मार्फत् देखाउन खोजिएको उनले बताए । चलचित्र सोलुखुम्बुका पहाडी क्षेत्रमा, सगरमाथा, सिन्धुलीको दरबार क्षेत्रका साथै मलेसियामा छायाँकन गरिएको निर्देशक चाम्सले बताए ।

‘नेपालीले हेर्नुपर्ने चलचित्र हो गोर्खा वारियर । गोर्खालीको इतिहास, बहादुरी, हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र निर्माण गरिएको छ । विगतमा लाहुरे हुनुपर्ने वाध्यतालाई चलचित्रको विषय वस्तु बनाएको छ,’ उनले भने ।

चलचित्रका नायक क्याप्टेन रितेश चाम्सले यस चलचित्रका लागि ३ वर्ष वर्कसप गरेको बताए । आफ्नो ड्रिम प्रोजेक्टको रुपमा ‘गोर्खा वारियर’ रहेकाले चलचित्रका लागि बेलायतमा अभिनय कला र मार्सलआर्ट सिकेको उनले बताए । चलचित्रकी नायिका रेविका गुरुङले ‘गोर्खा वारियर’ले पुर्खाहरुले देखाएको बहादुरी र दुःख र संघर्षलाई देखाउन खोजिएको बताइन् । ऐतिहासिक विषयमा बनेको चलचित्र भएकाले लामो समयको परिक्षा पछि आफूले अभिनय गर्ने अवसर पाएको उनको भनाई छ । चलचित्रमा आफूले पाएको भूमिकालाई न्याय गर्न सकेकोमा गर्व महसुश भएको उनले बताइन् ।

फागुन ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा विजय लामा, कविता आले, रेयर राई, सुरज तमु,आरुस जंग सारु, भुवनसिंह राई, त्रिचु राई, दिग्गज खत्री लगायतको कलाकारहरुको अभिनय रहेको छ ।