सर्वोत्कृष्ट चलचित्रको उपाधिसहित ‘सतीदेवी’ ले जित्यो ५० हजार नगद



चितवन । ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ ले प्राप्त गरेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा सोमबार सर्वोत्कृष्ट चलिचित्र उपाधि प्रदान गरिएको हो ।’सतीदेवी’ ले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार समेत जितेको छ । यो चलचित्र महोत्सवको प्रतिस्पर्धामा सहभागिता जनाएको भए पनि सार्वजनिक प्रदर्शनमा आउन बाँकी नै रहेको छ ।

त्यस्तै शिव रेग्मी सर्वोत्कृष्ट चलचलित्र निर्देशक उपाधि पनि ‘सतीदेवी’बाटै निर्देशक लक्ष्मण सुवेदीले प्राप्त गरेका छन् । स्वर्गीय चलचित्र लेखक तथा निर्देशक शिव रेग्मीको धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा अभिषेक रेग्मीले पिताको नाममा हरेक वर्ष प्रदान गर्ने गरी ५० हजार रूपैयाँ नगद सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।त्यस्तै महोत्सवमा सर्वोत्कृष्ट बृत्तचित्रको उपाधि डा.सचिन घिमिरे र गौरव केसीद्धारा निर्देशित ‘म अलप हुन चाहन्छु’ ले प्राप्त गरेको छ ।

त्यस्तै सर्वोत्कृष्ट लघु चलचित्रको उपाधि प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तो सर्वोत्कृष्ट सम्पादक ‘नांगो गाउँ’बाट बनिशा साहले प्राप्त गरेका छन ।

यस्तै सर्वोत्कृष्ट सिनेमाटोग्राफरको उपाधि चलचित्र‘बिच्छेद’बाट संकल्प भुजेलले प्राप्त गरेका छन भने यसै चलचित्रबाट सर्वोत्कृष्ट चलचित्र लेखनको उपाधि सत्यराज चौलागाई र मुकुन भुसालले प्राप्त गरेका छन । यस्तै ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीती चलचित्र ‘भाग्य’ले प्राप्त गरेको छ ।

महोत्सवमा दक्षिण एसिायली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए । महोत्सवको समापनमा सर्वोत्कृष्ट र सहभागी चलचित्र र चलचित्रकर्मीलाई बागमती प्रदेशका सदस्य गीता गुरूङले सम्मान र नगद पुरस्कार हस्तन्तरण गरिन । महोत्सवमा चलचित्रको निर्णायक समितिको संयोजकमा वरिष्ठ बृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहेका थिए । सो समितिमा नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधान सम्पादक माधव प्रसाद तिवारी र चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष रक्षा सिंह राणा रहेकी थिइन ।

कार्यक्रमको उद्घाटनमा वरिष्ठ चलचित्रकर्मीहरू निर शाह, शिव श्रेष्ठ, प्रकाश सायमी, रविन्द्र खड्का, गायिका ऋतु कडेँल, गायक हिमाल सागर लगायत उपस्थित रहेका थिए । महोत्सवको सञ्चालन चर्चित प्रस्तोता शान्ति पाख्रिनले गरेकी थिइन । महोत्सवमा प्रकाश, ‘सतीदेवी’, बिच्छेद, महानगर, वेलकम टु हेमजाकोट, भाग्य, चारदाम, लिलामे माइला, म अलप हुन चाहन्छु, वाइल्ड फायर, भुसको लोग्ने, खाग, गाली मन्त्र, आइ लभयू मम, हमर पहिचान, ग्रेट फादर, किरयापुत्री, वनकरिया र हिन्दी भाषाको चलचित्र घटना, लगायत प्रदर्शन गरिएको थियो ।