सौगात भन्छन् ‘हात्तीछाप ले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ’



काठमाडौंँ । अभिनेता सौगात मल्लले चलचित्र ‘हात्तीछाप’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिँदै सन्तुष्टि दिने दाबी गरेका छन् । कुराकानीका क्रममा उनले चलचित्र आफूले अभिनय गरेको अहिलेस सम्मकै फरक चरित्र रहेको बताए ।

चलचित्रमा सौगात मल्ल ‘बोतल राजा’को भूमिकामा छन् । चलचित्रका लागि सौगातले कपाल पनि लामो पालेका थिए । ‘फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ । मेरो गेटअप पनि भिन्न छ,’ सौगातले भने ।

कुराकानीको क्रममा अभिनेत्री उपासना सिंह ठकुरीले पनि चलचित्र आफ्नो अभिनय रहेको महत्त्वाकाङ्क्षी चलचित्र भएको बताइन् । चलचित्रले दर्शकलाई २ घण्टा बाँधेर राख्ने क्षमता राख्ने उनको भनाइ थियो । ‘म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लाग्यो । यसमाथि, दयाहाङ दाइ र सौगात दाइ भएपछि फिल्म यसै रमाइलो भइहाल्छ,’ ठकुरीले थपिन्, ‘फिल्मले भूकम्पको कथा पनि भनेको छ ।’

‘हात्तीछाप’ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा सौगात र उपासनाको अलावा दयाहाङ राईको पनि मुख्य भूमिका छ । यी तीनै कलाकार फिल्म ‘२ नम्बरी’मा पनि देखिएका थिए । चलचित्रका निर्देशक सिमोस सुनुवार हुन् । किरण नेपालीको प्रस्तुतिमा तयार भएको टिजरले दर्शकको माया पाइसकेको छ ।